कोरोना संक्रमितको यात्रा विवरण र सम्पर्कमा रहेकाहरुको खोजी शुरु

0

वीरगन्ज, २ बैशाख । वीरगन्जको नारायणी अस्पतालको आईसोलेशनमा उपचाररत तीन जना कोरोना संक्रमितको ट्राभल हिस्ट्री अर्थात यात्रा विवरण र उनीहरुले सम्पर्क गरेका स्थान र व्यक्तिहरुको खोजी जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार अस्ती दिउँसो उनीहरुमा कोरोना भएको पुष्टि भएपछि वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र त्यस आसपासका वडाका केही क्षेत्रहरुलाई शील गरेर उनीहरुको बारेमा थप विवरणहरु खोजी गर्न शुरु गरिएको हो ।

त्यस क्रममा संक्रमीतहरुको हेलमेल र सम्पर्कमा रहेका अस्ती र हिजो साँझ सम्म गरि १० जनालाइ नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।यस्तै संक्रमीतहरुको क्लोज सम्पर्कमा रहेका ९ जनाको रयाल संकलन गरेर परिक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार , अहिले नारायणी अस्पतालको आइशोलेशनमा राखिएका ३ जना सक्रमीत भारतीयहरुको ट्राभल हिस्ट्री सम्बन्धमा प्राप्त विवरण अनुसार संक्रमित तीन जना भारतीय डिसेम्बर १८ तारिख अर्थात पुष २ गते नेपाल प्रवेश गरेको र सुनसरी, सप्तरी हुदै पर्साको विभिन्न स्थानका मस्जीदहरुमा गएर सहभागी भएको प्रारम्भिक रिपोर्टहरु प्राप्त भएको छ ।


उनीहरु डिसेम्बर १८ र १९ अर्थात पुष २ र ३ गते मोरंगको बिराटनगर र त्यसपछि पुस ५ गतेदेखि १५ गतेसम्म सुनसरीकै दुहबीमा बसेका थिए । त्यस्तै पुष १६ गतेदेखि २९ गतेसम्म सुनसरीको इनर्वामा, फागुन २ गतेदेखि ६ गतेसम्म सप्तरीको धार्मिक भेलामा र फागुन ७ गते वीरगन्ज आएपछि चैत ६ गतेसम्म वीरगन्जको सुगौली स्थित मस्जिदमा बसेको र चैत ७ गतेदेखि अहिलेसम्म भने वीरगन्जमै बसिरहेका थिए ।

पुष २ गते नै नेपाल प्रवेश गरेका उनीहरुमा कोरोना संक्रमण कसरी भयो भन्ने विषयको खोजी गर्नुपर्ने देखिएको छ । कोरोना संक्रमण भएका व्यक्तिहरु दुई महिनासम्म हिडिरहदा पनि कोरोना संक्रमणको लक्षण देखा नपर्नु र अहिले आएर मात्रै कोरोनाको संक्रमण देखिनुले निकै रहस्यमय बनाएको छ । अहिले प्राप्त विवरणहरुका अनुसार नै अनुमान गर्ने हो भने प्रदेश नम्बर २ मा कोरोनाको संक्रमितको संख्या अझै बढ्न सक्ने प्रवल संभावना देखिएको छ ।

Share.

Leave A Reply