पर्साको छिपहरमाई गाउँपालिकाका किसानहरुलाई यस वर्ष गहुँ बालीमा सिँचाइ गर्न समस्या नपर्ने

0

३०, मंसिर, माधुरी,
पर्साको छिपहरमाई गाउँपालिकाका किसानहरुलाई यस वर्ष गहुँ बालीमा सिँचाइ गर्न समस्या नपर्ने भएको छ । किसानहरुको खेतमै सोलार प्रणालीको सिँचाइ सुविधा उपलब्ध भएपछि हाल सिँचाइका लागि आकाशे पानी कुर्नुपर्ने बाध्यता हटेको उनीहरुको भनाई छ । खेतमा जडान गरिएका विशाल सोलार प्यानलबाट किसानले घरमै बसेर मोबाइलबाट सिँचाइको पम्पिङ सेट सञ्चालन गर्ने सुविधा पाएका छन् । तराईमै बिल्कुलै नौलो खालको यो सिंचाइ प्रणाली छिपहरमाई गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा जडान गरेको हो । गाउँपालिकाका अध्यक्ष मनोज साहले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा गाउँपालिकामा ४५ वटा सोलार सिंचाइ प्रणाली जडान गरिएको बताउनुभयो । त्यसबाहेक १० वटा यस्तो प्रणाली संघीय सांसद लक्ष्मणलाल कर्णको संसदीय कोषबाट जडान गरिएका छन् । एउटा प्लान्टको लागत ९ लाख ६५ हजार रुपैयाँ परेको छ । सिंचाइ प्रणाली जडान गर्न ६० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान दिएको र बाँकी रकम गाउँपालिकाको कार्यालयले गराएको हो । ४० प्रतिशतमध्ये ३० प्रतिशत गाउँपालिका र १० प्रतिशत किसानको योगदान छ । यसरी गाउँपालिकाले यस कार्यक्रममा १ करोड ५१ लाख रुपैयाँ लगानी गरेको उहाँले बताउनुभयो । प्रत्येक बोरिङबाट एक दिनमा २ लाख लिटर पानी आउँछ । बिहान ७ देखि साँझ ५ बजेसम्म चलाउन सकिने बोरिङ किसानले घरमै बसेर मोबाइलबाट अफ अन गर्ने सुविधासमेत उपलब्ध छ । सम्पूर्ण बोरिङबाट दैनिक ९० लाखदेखि १ करोड लिटर पानी उपलब्ध भइरहेको छ । २ र ३ हर्स पावरका गरी २ थरी बोरिङ छन् । १ सय २० फिट गहिरो बोरिङ गाडिएका छन् । यसअघि गाउँपालिकमा सिंचाइको ठूलो समस्या रहेकोमा हाल भने धेरै राहत भएको अध्यक्ष साहले दाबी गर्नुभयो । जिल्लामै मात्र नभई सिंगो तराईका जिल्लाहरूमध्ये आफ्नो गाउँपालिकामा यस्तो सिंचाइ प्रणाली पहिलोपटक सञ्चालनमा आएको उहाँको दाबी छ । २० देखि ४० वर्षसम्म चल्ने दाबी गरिएको यो सिंचाइ प्रणालीअन्तर्गतको सोलार प्यानलको ५ वर्षको ग्यारेन्टी रहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply