लगातारको शीतलहरले मध्य तराईको जनजीवन थप कष्टकर बन्दै

0

पुस ३ बीरगञ्ज
लगातारको शीतलहरले मध्य तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरुमा आज पनि बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजिवन प्रभावित भएको हो । बिहानै देखि चिसो बढ्नुका साथै बिहान वीरगञ्ज र आसपासको क्षेत्रमा बाक्लो हुस्सु लागे थियो । अहिले हुस्सु हटेपनि चिसो भने उक्तिकै रहेको छ । चिसो अचानक बढेपछि बालबालिका र वृद्धवृद्धा, दैनिक ज्यालादारीमा कामगर्ने मजदुर तथा रिक्सा चालकहरुलाई बढी असर पारेको छ । चिसो र कठांग्रिदो जाडोमा पनि निजी तथा सामुदायिक विद्यालयहरु संचालनमै रहेकाले विद्यार्थीहरु विद्यालय जान बाध्य भएका छन् । विद्यालयमा अहिले दोश्रो त्रैमासिक परिक्षा संचालनमा रहेकोले विद्यालयहरु बन्द गर्ने निर्णय गर्न नसकिएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले बताउनुभयो । मौसम परिवर्तन नभए र विद्यालयहरुमा विद्यार्थीलाई समस्या भएको गुनासोहरु आए आवश्यक छलफल गरि विद्यालय बन्द गर्ने उहाँले बताउनुभयो । यसैबीच शीतलहरबाट प्रभावितहरुको लागि आवश्यक तयारी गर्न जिल्ला दैवी प्रकोप उद्दार समितिको आज बैठक बसेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकले पर्साका सम्पूर्ण गाउँपालिका, नगरपालिका र महानगरपालिकामा बसोवास गर्ने विपन्न गरिबलाई कम्बल वितरण गर्ने निर्णय गरेको छ । बैठकमा भएको निर्णय अनुसार गाउँपािलकालाई एकसय वटा, नगरपालिकालाई दुईसय वटा र महानगरपािलकालाई ५०० वटा कम्बल वितरण गर्ने भएको छ । त्यस्तै जाडोले प्रभावितहरुलाई सहयोग गर्न चाहने इच्छुक संघ संस्था तथा व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी सहयोग वितरण गर्न सकिने पनि निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी सिंह सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, लगायत जिल्ला स्थित सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply