आज देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै



बैशाख २७ वैशाख शुक्ल पूर्णिमाका दिन मंगलबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । बुद्ध जयन्तीको अवसरमा आज काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्छ । यस अवसरमा सरकारले मंगलबारसार्वजनिक बिदा दिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राष्ट्र गौरव र अमरज्योति गौतम बुद्धको २५६१ औँ जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी राष्ट्रपति भण्डारीले किराँत धर्मावलम्बीहरुको पवित्र एवम् महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनार्थ सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । देशको बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवम् सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउँदै उहाँले नागरिकको लामो सङ्घर्षपछि संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।
यसैबीच बुद्ध जयन्तीको अवसरमा मंगलबार बीरगञ्जको भीश्वामा रहेको बौद्ध स्तुपामा पनि मंगलबार विहानदेखी दर्शनार्थीहरुको भीडभाड लागेको छ । बुद्ध जयन्तीको अवसरमा भीश्वामा हरेक वर्ष मेला लाग्ने गर्दछ । त्यस्तै बुद्ध जयन्तीकै अवसरमा गुरु नानक सेवा प्रतिष्ठान स्रोत केन्द्र वीरगञ्जले आज बालबालिकाहरुलाई विष्कुट वितरण गरेको छ । वीरगञ्जको घण्टाघरमा मंगलबार बिहान बालबालिकाहरुलाई विस्कुट वितरण गरिएको केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित