आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदै



बिरगन्ज,११ असोज । आज ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक उपस्थितिमै सहभागी भएर दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरका अनुसार बोर्डको हलमा औपचारिक समारोह हुँदैछ । दिवसकै अवसरमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले रक्तदान कार्यक्रम गर्दैछ ।

नक्सालमा रहेका संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान हुँदैछ । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ । सीमा नाका खोल्ने र क्वरेण्टीनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ ।

कोभिड महामारीले पछिल्ला दुई वर्षमा पर्यटन क्षेत्र ठप्प जस्तै रह्यो । पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

यसैबिच विश्व पर्यटन दिवसका अवसरमा विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख पोखरा पुगेका छन् । उनीहरुलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गर्नुभयो थियो ।

कतार, यूएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आउनुभएको हो । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखसमेत पोखरा पुगेका छन् । राजदूत सहितका विशिष्ट कुटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसाय माथि उठाउन सकारात्मक सन्देश दिने विश्वास लिइएको सचिव पौडेलले बताउनुभयो ।

विदेशी राजदूतसहित विशिष्ट कुटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको परिषद्का अध्यक्ष भट्टराईले बताउनुभयो । यो भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने बताउँदै उहाँले स्वास्थ्यका मापदण्ड पालनाका साथ पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको धारणा राख्नुभयो ।

कुटनीतिज्ञले आज पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दूरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ । आजै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा पनि सहभागी हुने कार्यक्रम छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा आमन्त्रण हुनुभएका विदेशी राष्ट्रका राजदूतलगायत कुटनीतिक नियोगका अधिकारीहरु विशिष्ट कुटनीतिज्ञको पोखरा आगमनले विश्व पर्यटन बजारमा पोखराको सकारात्मक सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि