कैलाली र अर्घाखाँचीमा भएको दुर्घटनामा चारजनाको मृत्यु, १५ जना घाईते



वीरगन्ज, १९ भदौ । कैलाली र अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–३ ठाडामा माइक्रो बस दुर्घटना हुँदा एक जना ज्यान गएको छ । आठ जना घाइते भएका छन् । काठमाण्डौबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रो बस आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो । बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको उहाँले बताउनु भयो ।घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो ।

दुर्घटनाका विषयमा बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । यस्तै कैलालीमा यात्रुवाहक विईङ्गर र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु हुनुका साथै थप चार जना घाइते भएका छन्। गएराती करिब ११ बजे कैलालीको गौरीफन्टा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विईङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी छन् । यस्तै घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन्। घाईते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यस्तै विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन् । विईङगरमा चालक र सहचालक मात्र रहेको र विङगर चालक फरार रहेको भन्दै प्रहरीले खोजी तिब्र पारेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,