गाछी टोलका आगलागी पीडितहरूका लागि राहत सामाग्री पुग्न थाल्यो



बैशाख १४ वीरगंज उपमहानगरपालिका वडा नम्बर २१ पटेलनगरको गाछी टोलका आगलागी पीडितहरूका लागि विभिन्न निकायबाट राहत सामाग्री पुग्न थालेको छ । नेपाली काँग्रेसका नेता एवं व्यवसायी हबिब मियाँले बिहीबार बिहान आगलागी पिडित २२ घरपरिवारलाई ४९ हजार ९ सय रुपैंया बराबरको राहत सामाग्री वितरण गर्नुभएको छ । मियाँले प्रति परिवार ३० किलो चामल, धोती र साडी एक एक थान, आलु, प्याज, नुन लगायतका सामाग्री वितरण गर्नुभएको हाम्रा सहकर्मी राधेश्याम पटेलले जनाएका छन् । राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदी, जतन राउत कुर्मी, अनिल श्रीवास्तव लगायतको पनि उपस्थिती रहेको थियो । आगलागी भएकै दिन हिजो बुधबार पनि चार वटा समूहले आगलागी पिडितहरुलाइ राहत सामग्री तथा नगद वितरण गरेका थिए । हिजो बुधबार आगलागी भएलगत्तै सबै भन्दा पहिले पटेलनगरमा पुग्नु भएका संघिय समाजवादी फोरम नेपाल पर्साका नेता तथा उद्योगी विजयकुमार सरावगीले पटेलनगरका २२ घर परिवारका लागि प्रति परिवार एक हजार नगद, दुई थान त्रिपाल र तीस किलोे चामल सहयोग गर्नुभएको थियो ।यस्तै बुधबार नै नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले पनि प्रत्येक आगलागी पिडित परिवारलाई २० हजार रुपैया मुल्य बराबरको राहत सामग्री बाँडेको थियो । रेडक्रसले प्रत्येक परिवारलाई चार हजार रुपैया नगद, एउटा त्रिपाल, कम्बल, बालटिन, भाँडाकुँडा, साडी लगायतका सामग्री प्रदान गरेको हो । जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको उपस्थितिमा रेडक्रसले राहत सामाग्री वितरण गरेको थियो । यस्तै वीरगंज उद्योग वाणिज्य संघ र जिल्ला दैवी प्रकोप तथा उद्धार समितिले पनि आगलागी पिडितहरुलाइ करिब १० हजार मुल्यको चामल, चिउरा, भुजा, तरकारी सहयोग गरेका छन् । त्यस्तैगरि पटेलनगरमैं रहेको हिमालयन डिस्टिलरी प्रालिले पनि १७ हजार मुल्यको चाउचाउ, भुजा, च्यूरालगायत खानेकुरा वितरण गरेको छ । बुधबार भएको आगलागीका कारण पटेलनगरका २२ घरपरिवारको बिचल्ली भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड