ठेकेदारको लापरवाहीका कारण निजगढको बर्थिङ सेन्टर भवन अलपत्र



असार २८ बाराको निजगढमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा बनाइएको बर्थिङ सेन्टरको भवन निर्माण भएको करिब दुई वर्ष बिते पनि सञ्चालनमा आउन सकेको छैन ।शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जले प्राविधिक रेखदेख गर्दै आएको उक्त भवन , ठेकेदारले स्थानीय स्वास्थ्य केन्द्र सञ्चालक समितिलाई हस्तान्तरण नगरेका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको हो ।करिब एक करोड रुपैयाको लागतमा निर्माण भएको बर्थिङ सेन्टर भवनमा जडान गरिएका पंखा , बत्ती लगायतका अधिकांश विद्युतीय उपकरणहरु बिग्रेर काम नलाग्ने अवस्थामा रहेका छन् । आठ दश महिना अघिसम्म टुटेफुटेका र बिग्रेका सामानहरु फेर्न पटक पटक आग्रह गर्दा पनि ठेकेदारले अटेर गर्दै आएको स्थानीयवासीले बताएका छन् । ठेकेदारको लापरवाही र बर्थिङ सेन्टर भवन हस्तान्तरण नभएको बारे शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका तत्कालीन प्रमुख विदुर खडकालाई जानकारी गराएको भएपनि समस्या समाधान नभएको स्थानिय सेवाग्राहीहरुको गुनासो छ । बर्थिङ सेन्टर निर्माणमा राज्यको ठूलो लागत लागेको भएपनि ठेकेदारले कमसल सामान प्रयोग गर्दा हस्तान्तरण अगावै बिग्रेकोले भवन बुझ्न नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र निजगढ सञ्चालक समितिका तत्कालीन सदस्य भोजराज अधिकारीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नवराज तिमल्सिनाले भने बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । केही आवश्यक समाग्री ल्याइसकेको र केही उपकरण तथा समाग्री नपुग भएकाले ती सामान प्राप्त हुनासाथ जति सक्दो छिटो बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान