पानीले भिजेर बिग्रिएको मल १ वर्ष भन्दा लामो समय देखि सुक्खा बन्दरगाहमा अलपत्र



वीरगन्ज,१४ असोज । पानीले भिजेर बिग्रिएको मल १ वर्षभन्दा लामो समय देखि वीरगञ्ज सुक्खा बन्दरगाहमा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीले मगाएको १ लाख २६ हजार बोरा अर्थात ६ हजार ३ सय मेट्रिक टन डीएपी मल , सुख्खा बन्दरगाहमा एक वर्ष देखि अलपत्र परेको हो । बिग्रिएको मल नष्ट गर्नुपर्ने भए पनि आपूर्तिकर्ता सम्पर्कमा नआएकाले नष्ट गर्न नसकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो ।

बिग्रिएको मल ड्राईपोर्ट भन्सारले जफत गरेर राखेको र जाँचपास गर्न नमिलेपछि त्यस्तो मल नष्ट गर्नुपर्ने प्रमुख खत्रीले बताउनुभयो । १ लाख २६ हजार बोरा डिएपी मल अहिले बन्दरगाहमा रेलवे ट्र्याकको खाली जमीनमा मिल्काइएको छ । गोदाममा राख्दा ठाउँ ओगट्ने भएकाले रेलवेको दुईओटा ट्र्याकको बीचमा पर्ने खाली ठाउँ र छेउको जमीनमा राखिएको खत्रीले बताउनुभयो ।

मल कसरी नष्ट गर्ने भन्ने अन्योल देखिएको छ । सुख्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले बिग्रिएको मल बन्दरगाहबाट हटाउन दबाब दिइरहेको भएपनि मलको आपूर्तिकर्ता सम्पर्कमा नआएपछि भन्सार प्रशासन अन्योलमा परेको खत्रीले बताउनुभयो । बिग्रिएको मल नष्ट गर्ने जिम्मेवारी आपूर्तिकर्ता कम्पनीको भए पनि सम्पर्कमा नआएको भन्सार प्रमुख खत्रीले बताउनुभयो । आपूर्तिकर्ता सम्पर्कमा नआएकोले मललाई बन्दरगाह हातामै थुपारेर राखिएको उहाँले बताउनुभयो ।

संयुक्त अरब इमिरेट्स दुबईको स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजले मल आपूर्तिको जिम्मा लिएको थियो । बिग्रिएको मध्ये अधिकांश परिमाण साल्ट ट्रेडिङको हो । पाँच हजार मेट्रिक टन साल्ट ट्रेडिडको र बाँकी कृषि सामग्री कम्पनीको रहेको खत्रीले बताउनुभयो । गतवर्ष भदौको पहिलो हप्ता कोलकाता बन्दरगाह हुँदै रेल मार्फत वीरगञ्ज भित्रिएको मल भिजेर बिग्रिएको फेला परेको थियो । काम नलाग्ने अवस्थामा आइपुगेको मल भन्सारले जाँचपास गरेको थिएन ।

ओमानबाट आएको मल त्यतिबेला बंगालको खाडीमा आएको अम्फन आँधीका कारण कोलकाता बन्दरगाहमै भिजेको थियो । आयात गरिएको मल नेपाल भित्रयाउनै पर्ने नीतिगत व्यवस्थाका कारण आपूर्तिकर्ताले बिग्रिएकै मल वीरगञ्ज ल्याएर छोडिदिएको थियो । साल्ट ट्रेडिङ वीरगञ्जका प्रमुख अमोज लामिछानेले मल भिजेर भएको क्षति आपूर्तिकर्ताले नै बेहोरेकाले आर्थिक रूपमा कुनै नोक्सानी नभएको दाबी गर्नुभयो । बिग्रिएको मल नष्ट गर्ने दायित्व पनि आपूर्तिकर्ताकै भएको उहाँले बताउनुभयो ।

बन्दरगाहमा नष्ट गर्ने पर्याप्त ठाउँ नभएको र बन्दरगाह बाहिर लैजान नसकिएकाले बन्दरगाहमै थुपारेर राखिएको सुख्खा बन्दरगाह भन्सारले बताएको छ । कन्टेनर र अन्य कार्गोको चाप बढिरहेको अवस्थामा थन्किएको ठूलो परिमाणको मलका कारण थप समस्या बनेको प्रिस्टाइन भ्यालीका कार्यकारी निर्देशक बी मोहनले बताउनुभयो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै