बाढि र पहिरोमा परेर देशका विभिन्न स्थानमा अहिले सम्म ८ जनाको मृत्यु



वीरगन्ज, २ कात्तिक । तीन दिन देखि लगातार परिरहेको वर्षाका कारण पहिरो र बाढिमा परेर देशका विभिन्न स्थानमा अहिले सम्म ८ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै सुनसरी जिल्लाको धरान–१३ नागेश्वर मार्गमा रहेको एक घर माथि आज दिउसो पहिरो झर्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।सुनसरीका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीका अनुसार धरान १३ नागेश्वर मार्गमा रहेको निशान राईको घर माथि खसेको पहिरोले पुर्दा निशानका ४ वर्षीय छोरा निहान राई र ७ वर्षीय छोरी निसु राईको मृत्यु भएको हो ।

यस्तै डोटीमा पनि वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ ।लगातारको वर्षाका कारण घर भत्किदा डोटी जिल्लाको सायल गाउँपालिका–६ मा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर वीरबहादुरका १४ वर्षीय छोरा सागर र ११ वर्षीय छोरा आशिष कुन्जेडाको मृत्यु भएको हो ।यस्तै कालिकोटको राम्नेमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

महावै गाउँपालिका वडा नम्बर ७ राम्नेकी १८ वर्षकी स्मृती अधिकारीको ज्यान गएको हो । पहिरोले घर भत्किँदा अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै डडेलधुरामा पनि पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार , डडेलधुरामै पहिरोमा परेर अन्य दुई जना घाइते भएका छन् ।अमरगढी नगरपालिका–१ मा पहिरोमा परेर दुई जना घाइते भएको र दुवै जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरमा अलग–अलग ठाउमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ । बेलका नगरपालिका २ स्थित गिदेरी खोला र कटारी नगरपालिका २ स्थित कमला खोलाले बगाएर दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमका अनुसार गिदेरी खोलामा स्थानीय विश्वनाथ चन्द्रबंशीका दुई वर्षीय छोरा भरत चन्द्रबंशी र कमला खोलामा कटारी नगरपालिका १० गिजिङटारका ४५ वर्षीय गुमानसिंह खड्काको मृत्यु भएको हो ।
यस्तै बाँकेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले राप्ती नदीको बाढीमा फसेका ४ जना पुरुषको १९ घण्टापछि उद्दार गरेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार हिजो दिउँसो २ बजेतिर राप्ती नदी पारी बनकरेली टिप्न गएका डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खाँको आज बिहान ९ बजे उद्दार गरिएको हो ।

यस्तै अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । धनगढीको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।वडाध्यक्ष रामबहादुर धामीले गएराति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिनुभयो ।बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको वडाअध्यक्ष धामीले बताउनुभयो ।सेती नदिको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताउनुभयो ।

यसैबीच, कन्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीका ५ जना , तीन दिन देखि महाकाली नदीको बीचैमा फसेका छन् । उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर कञ्चनपुर गएपनि प्रतिकुल मौसमको कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि टापुमा फसेकाहरुलाई झनै जोखिम बढ्दै गएको छ ।

यस्तै लगातारको बर्षपछि कञ्चनपुरमा महाकाली नदी तटीय क्षेत्रका १ सय घर डुवानमा परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ११ र १२ का १ सय घर डुवानमा परेका हुन् । बाढीले महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षती पु¥याएको हो । बाढीले त्यहा १ सय मिटर सडक बगाएको छ । यस्तै, महाकाली नदीमा पानीको वहाव निरन्तर बढ्ने क्रममा छ । महाकालीमा पानीको वहाव ५ लाख क्युसेक मापन गरिएको छ । जुन यो वर्षकै सबैभन्दा बढी हो ।

यस्तै, लगातारको बर्षाले डोटी स्थित सेती नदिमा आएको उच्च बहाव बस्ती तर्फ पस्न थालेको छ । दिपायल सिलगढी नगरपालिका वडा नंबर २ र ३ को सिमानामा पर्ने पुल बजारमा सेती नदि पसेर बस्ती जोखिममा परेको छ । त्यहा पनि २ घर डुवानमा परेका छन् ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितको उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले आज बालुवाटारमा बोलाएर बाढी,पहिरो र डुवानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री खाणलाई निर्देशन दिनु भएको हो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न
वीरगन्ज नाकाबाट चार महिनाको अवधिमा निर्यात बढ्यो
विजय सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित, प्रदीप यादव केन्द्रीय सदस्यबाट निष्काशित
प्रेस सेन्टर नेपाल पर्सा शाखाको पाँचौं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन