बारामा स्थानीय तहको नेतृत्वका लागि कांग्रेस र एमाले बिच नै मुख्य प्रतिस्पर्धा हुने


चैत ३१ झण्डै दुई दशक पछि हुन लागेको स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी बारामा राजनीतिक दलहरुले आफ्ना चुनावी गतिविधि सुरु गरेका छन् । बारामा रहेको दुई वटा उपमहानगरपालिका, चार वटा नगरपालिका र नौ वटा गाउँपालिकामा आफ्नो वर्चश्व कायम गर्ने रणनीतिमा दलहरु लागेका छन् ।जिल्लामा सकृय मुख्य राजनितक पार्टीहरु बारामा भएका १५ वटै स्थानीय निकायको नेतृत्व कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने आन्तरिक रणनिति तयार गर्ने काममा जुटेका छन् । स्थानीय निकायको नेतृत्वका लागि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमाले बिच नै हुने विश्लेषण स्थानीय राजनीतिक विश्लेषकहरुले गरेका छन् । तर केही ठाउँमा , मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी भएमा उसले कांग्रेस एमालेलाई चुनौती दिन सक्ने विश्लेषण समेत गरिएको छ । कलैया उपमहानगरपालिका र जितपुर–सिमरा उपमहानगरपालिकाको नेतृत्व हात पार्ने दाउमा अहिले देखि नै कांग्रेस र एमाले जोडतोडका साथ लागेका छन् । निर्वाचनमा सहभागी भएमा संघीय समाजवादी फोरम नेपाल पनि कलैया उपमहानगरपालिकामा कांग्रेस–एमालेको लागि ठूलो चुनौती बन्न सक्ने आकलन गरिएको छ । राजनीतिक दलहरु मतदाता समक्ष नगए पनि आफ्ना कार्यकर्ताहरुलाई संगठित गर्दै प्रशिक्षण दिन थालेका छन् । नेपाली कांग्रेसले तीन साता यता जितपुर–सिमरा उपमहानगरपालिकामा प्रवेशका तीनवटा कार्यक्रमको आयोजना गरिसकेको छ । ती कार्यक्रमहरुमा झण्डै एक हजार जनाले अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको दाबी नेपाली कांग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले गर्नुभयो ।नेकपा एमालेले पनि नगरका वडाहरुमा आफ्नो कार्यकर्ता भेला गर्दै निर्वाचनमा जोडतोडका साथ लाग्न कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको छ । मधेसी मोर्चाले पनि पार्टी प्रवेशको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । लामो समयपछि स्थानीय निकायको निर्वाचन हुन लागेकाले बारामा प्रत्येक पार्टीमा मेयरका आकांक्षीहरु थुप्रै देखिएका छन् । कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति फुलमहम्मद मंसुर, पूर्व जिल्ला सचिव तेजनारायण साह, क्षेत्र नम्बर २ का सांसदका पुत्र एंव काँग्रेस पार्टीका जिल्ला सदस्य राजेश यादव, उद्योग वाणिज्य संघ बाराका पूर्व अध्यक्ष संजय गुप्ता मेयर पदका आकांक्षी देखिएका छन् ।नेकपा एमालेका तर्फबाट जिल्ला सचिव महमद समिउल्लाह, पूर्व सचिव अध्यानन्द पाण्डे, पूर्व नगर अध्यक्ष रविन्द्र दास श्रेष्ठ, युवासंघका केन्द्रिय सदस्य ध्रुव यादव लगायतको नाम मेयर पदका लागि कार्यकर्ता माझ चर्चामा छ । मधेसी मोर्चा निर्वाचनमा सहभागी भएको खण्डमा संघीय समाजवादी फोरम नेपालका प्रमोद गुप्ता र पारस साहको नाम पनि मेयरको उम्मेदवारको चर्चामा रहेको छ । दोश्रो संविधान सभामा एमालेबाट टिकट पाई दोश्रो स्थान हासिल गरेका उद्योग वाणिज्य संघ बाराका अध्यक्ष विनोद साहले एमाले परित्याग गरेका कारण आसन्न निर्वाचनमा एमालेलाई ठूलो असर पर्ने धेरैको बुझाई छ । यस्तै जितपुर सिमरा उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट नगरसभापति श्यामबाबु गुप्ता, महिला नेत्री नारायणी रायमाझी, पुष्कर रायमाझी, नारायण पंडित, छविलाल शर्मा र कृष्ण ब्रत सिंह मेयर पदका आकांक्षी छन् । एमालेका तर्फबाट जिल्ला अध्यक्ष सुन्दर विक, प्रचार विभाग प्रमुख मनोज पौडेल, कृष्ण पौडेल, देवनारायण चौधरी र भरत खड्काको नाम मेयरका लागि चर्चामा रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट राजन पौडेल, धनबहादुर श्रेष्ठ लगायत मेयरका लागि आकांक्षी देखिएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पर्साको पर्सागढी नगरपालिका द्धारा पत्रकार आयोजना
वीरगन्जमा सशस्त्र प्रहरीले पक्रेको एक ट्रक पाडा , वीरगन्ज भन्सार कार्यालयले छोड्यो
मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा