भारतीय पक्षको अवरोधका कारण ठोरीमा ठुटे खोलमा पुल निर्माण कार्य अलपत्र




वीरगन्ज,१७ साउन । भारतीय पक्षले अवरोध गर्दा निर्माण भएको करिब ४ बर्षमा पनि वीरगन्ज–ठोरी हुलाकी सडक खण्ड अन्तरगतको पर्साको ठोरीको ठुटे खोलाको पुल उपयोगमा आउन नसक्दा स्थानीयहरुले समस्या झेल्न परेको छ ।

ठोरी गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने उक्त पुलको पूर्वतर्फ एप्रोच सडक बन्न नसक्दा प्रयोग हुन नसकेको हो । कुलोको विवादका कारण भारतीयले एप्रोच सडक निर्माणमा अवरोध गरेका छन् । भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहान प्रयोग गरी वर्षौंदेखि २ वटा कुलोबाट सिँचाइ गर्दै आएका छन् ।

३ वटा कुलोमध्ये एउटा मात्र नेपाली पक्षले प्रयोग गर्छन् । भारततर्फको कुलोमा बढी र नेपालको कुलोमा कम पानी प्रवाह हुन्छ । स्थानीयका अनुसार २०२१ सालमा यसरी कुलो बनाइएको र हालसम्म यसैगरी पानी प्रयोग भइरहेको छ । स्थानीय हेम चापागाईंका अनुसार हाल खोलामा निर्मित तीनवटै कुलो बन्द छन् ।

कुलो उपयोग नभएकाले सवारीसाधन डाइभर्सनबाट पुलमा चढेर वारपार गर्छर्न् । जनप्रतिनिधि ठुटे खोलाबाट अन्यायपूर्ण तरिकाले कुलो बनाएर भारतमा बढी पानी लगिएकाले हालको कुलोलाई निरन्तरता नदिने अडानमा छन् । सीमापारि भिखनाठोरीदेखि सहोदरासम्मका भारतीय नागरिक तथा त्यहाँका जनप्रतिनिधिले भने हालकै अवस्थाको कुलोलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

उनीहरूले कुलोलाई सहज रूपले बग्न दिन पुलको पूर्वतर्फ कल्भर्ट निर्माण गर्नुपर्ने माग राख्दै आएका छन्  ।गत वर्ष पहिलो लकडाउनको समयमा ठेकेदार कम्पनीले एप्रोच सडक बनाउन खोज्दा भारतीय सुरक्षा फौज एसएसबीका जवान आएर काम रोकेका थिए ।

विवादकै कारण ठेकेदार कम्पनी बानियाँ÷कालिका कन्स्ट्रक्सनले वैशाखमा एप्रोच सडकको काम नै पूरा नगरी हुलाकी सडक हस्तान्तरण गरेको थियो । पुल निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी अमर एन्ड मृत सञ्जीवनीले एप्रोच सडक निर्माण गर्न सरकारको निर्णय कुरेको थियो । तर, यो विवाद समाधान नभएपछि काम रोकेको छ ।

उसले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा यो पुल निर्माणको ठेक्का पाएको हो । ४ वटा स्पान रहेको १ सय २ मिटर लामो पुल ७ दशमलभ २ मिटर चौडा छ ।पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले आफूले एकपटक स्थलगत निरीक्षण गरेर स्थानीयसँग छलफल गरेको भएपनि काम अगाडि बढ्न नसक्नु दुखद भएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड