‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु



वीरगन्ज, २५ कात्तिक । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठले बताउनुभएको छ । जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।

यसैबीच आजदेखि शुरु भएको १२ औं जनगणनामा पर्सामा भने केही जटिलताहरु देखिएका छन् ।

जिल्ला स्थित तथ्यांक कार्यालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसँग जनगणनाको समन्वय गर्ने तथा स्थानीय स्तरमा वडा अध्यक्षहरुलाई नै जनगणना समन्वय समितिका संयोजक तोकिने र उनीहरुको रोहबरमा गणना गर्ने भनिएको छ । तर, वीरगन्ज स्थित तथ्यांक कार्यालयको स्थानीय तहहरुसँगको समन्वय खासै प्रभावकारी देखिएको छैन ।

प्रभावकारी समन्वय अभावमा यथार्थ विवरण सहितको जनगणना हुनेमा शंका उत्पन्न भएको छ । जनगणनाको व्यापक प्रचार प्रसारको अभाव र सरकारले खटाएका कर्मचारीहरुले विवरण लिन जाँदा सहज रुपमा विवरण टिपाउन नमान्ने समाजको समस्याका कारणले तथ्यांक सही आउनेमा आशंका उब्जिएको हो । सरकारले आफ्नो पूरा विवरण सही दिन अनुरोध गरेपनि स्थानीय स्तरमा समन्वयको अभावले यस्ता समस्याहरु देखिन सक्ने गणक तथा सुपरीवेक्षकहरुले आशंका व्यक्त गरेका छन् ।

तथ्यांक कार्यालय वीरगन्जका अनुसार पर्सा जिल्लामा पाँचसय ७० जना गणक खटिएका छन् । तथ्यांक कार्यालय पर्साले स्थानीय स्तरमा तालिम दिएर गणकहरुलाई खटाईएको कार्यालय प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो । पर्साको ६ स्थानमा गणकहरुलाई तालिम समेत दिईएको उहाँले बताउनुभयो । कालिकामाई, जीराभवानी, पर्सागढी, परवानीपुर, वीरगन्ज लगायतका स्थानमा तालिमको आयोजना गरिएको प्रमुख ज्ञवालीको भनाई छ । सूचीकरणका लागि खटिएका कर्मचारीहरुबाटै जनगणनामा भाग लिन अनुरोध पत्र पनि पठाईएको प्रमुख ज्ञवालीले बताएपनि आम रुपममा भने जनगणनाको विषयमा नागरिकलाई खासै जानकारी छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न
वीरगन्ज नाकाबाट चार महिनाको अवधिमा निर्यात बढ्यो
विजय सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित, प्रदीप यादव केन्द्रीय सदस्यबाट निष्काशित
प्रेस सेन्टर नेपाल पर्सा शाखाको पाँचौं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन