वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि खुल्ने




वीरगन्ज, ३१ साउन । वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि खुल्ने भएका छन् । वीरगञ्ज महानगरपालिकाले आजदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले बुधवार आयोजना गरेको सरोकारवालाहरूको छलफलले विद्यालय खोल्न महानगर नेतृत्वलाई आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णयमा पुगेको नगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएका विद्यालय अहिलेसम्म पुनः सञ्चालनमा आउन सकेका छैनन् । वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रणमा आएकाले महानगरले डेढ महीनाअघि नै विद्यालय सञ्चालन गर्न खोजेको थियो ।

जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति नदिएकाले अहिलेसम्म विद्यालय सञ्चालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताउनुभयो । कोरोना नियन्त्रणमा आएकाले ‘ग्रीन जोन’मा परेको वीरगञ्जमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने महानगरले बताउँदै आएको थियो । स्थानीय प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संकट व्यावस्थापन केन्द्रले स्वीकृति दिएको थिएन ।

यसअघि मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेकाले मन्त्रिपरिषद्बाटै पुनः सञ्चालनको निर्णय आएमात्रै विद्यालय चलाउन पाइने अडान केन्द्रको रहँदै आएको छ । स्थानीय प्रशासनको अडानका कारण विद्यालय खुलाउने डेढ महीनादेखिको प्रयास असफल भएपछि नगर प्रमुख सरावगीले सरोकारका पक्षको भेला राखेर सहयोगको आग्रह गर्नुभएको हो ।

राजनीतिक दल, शिक्षक संघ संगठनका अगुवा, अभिभावकलगायतको सहभागिता रहेको छलफलले विद्यालय खोल्नुपर्ने निष्कर्ष निकालेपछि महानगर विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो । शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने भएपनि स्थानीय प्रशासनको असहयोगका कारण विद्यालय बन्द गर्नुपरेको गुनासो सरावगीले गर्नुभयो । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न साथ दिने सहभागीहरूले बताएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड