वीरगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०७७÷७८ मा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार



वीरगन्ज, ७ साउन । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०७७÷७८ मा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी आईसीपी र सिर्सिया सुक्खा बन्दरगाह भन्सारबाट गत आर्थिक वर्षमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो ।आईसीपी भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ । यस्तै सुक्खा बन्दरगाह भन्सारबाट गत आर्थिक वर्षमा २६ अर्ब १६ करोड रुपैयाँको मालासामान भित्रिएकोमा ३८ करोड रुपैयाँ मूल्यका वस्तु विदेश निकासी भएको छ ।वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा कुल व्यापार २७ प्रतिशतले बढेको छ । आयातको आकार २४ प्रतिशतले वृद्धि हुँदा निर्यात ६६ प्रतिशतले बढेको वीरगन्ज भन्सारको तथ्यांक छ ।निर्यात व्यापारमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो ।गत आर्थिक वर्षमा इन्धन र सवारीका साधनको आयातमा कमी नदेखिए पनि कोरोना महामारीले पारेको असरका कारण अन्य व्यापारिक वस्तुको आयात भने ह्वात्तै घटेको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो । जुत्ता, चप्पल, हार्डवेयर, उपकरण, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात घटेको जानकारी पौडेलले दिनुभयो ।आयातकर्ताले सुक्खा बन्दरगाह भन्सारबाट गत आर्थिक वषर्मा फलाम उद्योगका कच्चा पदार्थ, केराउ, मदिरा, तोरी, मरीच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्रयाएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले बताउनुभयो यो अवधिमा चाउचाउ, अचार, पिठो, टायर, छाला, जडीबुटीलगायत वस्तु निर्यात भएको जानकारी पनि कट्टेलले दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पर्साको पर्सागढी नगरपालिका द्धारा पत्रकार आयोजना
वीरगन्जमा सशस्त्र प्रहरीले पक्रेको एक ट्रक पाडा , वीरगन्ज भन्सार कार्यालयले छोड्यो
मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा