वीरगन्ज पथलैया सडकखण्डमा मापदण्ड बिपरित पेट्रोल पम्पहरु संचालित



वीरगन्ज,२० असोज । वीरगन्ज पथलैया व्यापारिक सडकखण्डमा मापदण्ड विपरीत सडक क्षेत्र भित्र सञ्चालित पेट्रोल पम्पले दुर्घटनाको जोखिम बढाएको भन्दै यात्रुहरुले चिन्ता जनाएका छन् । ६ लेनको व्यापारिक मार्गको ३२ किलोमिटर सडकखण्डमा करिब ४२ वटा पेट्रोल पम्प सञ्चालनमा छन् ।

तीमध्ये ११ वटाले मापदण्ड विपरीत सडक सीमा मिचेर सञ्चालन भइरहेकाले दुर्घटनाको जोखिम बढाएको हो । सडक सञ्चालन कार्यविधिले सडक र पेट्रोल पम्पबीचको दूरी ६ मिटर हुनुपर्ने व्यवस्था गरेको छ। तर, बाराको पथलैयादेखि पर्साको वीरगन्जसम्म ११ वटा पेट्रोल पम्प मापदण्डविपरीत सडक सीमाभित्र सञ्चालनमा छन्।

मापदण्डविपरीत सञ्चालन भइरहेका पम्प सार्न गतवर्ष नै सूचना जारी गरिसकेको व्यापारिक मार्ग कार्यालयले जनाएको छ । मापदण्डविपरीत सञ्चालनमा रहेका ११ वटा पम्पमध्ये पनि केही पम्प सार्न सञ्चालक तयार भएपनि बाँकी पम्प सञ्चालक विभिन्न समस्या देखाएर नसार्ने दाउमा रहेको देखिन्छ। बाराको जीतपुर बजारस्थित बिन्दा आयल स्टोरका सञ्चालक अरुण रौनियारले पम्प सार्ने विषयमा सडक कार्यालयबाट कुनै पत्र नआएको दाबी गर्नुभयो ।

नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले भने मापदण्ड विपरीत सडक सीमा भित्र सञ्चालित पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति रोक्ने विषयमा सडक कार्यालयबाट कुनै पत्राचार नभएका बताउनुभयो ।

सवारी आवागमनको अत्यधिक चाप हुने वीरगन्ज–पथलैया सडकखण्डमा गुड्ने मालबाहक सवारी साधनको साइलेन्सरबाट धुवाँसँगै निस्कने आगोको झिल्काले सडक सीमा भित्र रहेका पम्पमा आगलागीको जोखिम छ ।सडक बिभागले भने आफूहरुले पटक पटक पेट्रोल पम्पका संचालकहरुलाई यो बिषयमा जानकारी गराएपनि सुनुवाइ नभएको गुनासो गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि