वीरगन्ज र रक्सौलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धार चाँडै हुने




वीरगन्ज,२२ साउन । नेपाललाई भारतसँग स्थलमार्ग भएर जोड्ने मुख्य नाका वीरगन्ज र रक्सौलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धार चाँडै हुने भएको छ। पुलमुनी नेपाल–भारत सीमा भएर बग्ने सिर्सिया नदी छ, पुलमाथि दर्जन बढी खाल्डो।

राम्रो भारवहन क्षमतासहित कालोपत्रे र आरसिसि ढलान भएपछि खाल्डोको ठाउँमा चिटिक्कको बाटो हुने भएको छ। नेपाललाई भारत र ब्यपापारिक रुपमा अन्य देशसँग जोड्ने मुख्य नाकामा रहेको मितेरी पुल मानिस र सवारी साधन आवतजावतका लागि पार गर्न चुनौतिपूर्ण बनेको अवस्थामा अहिले मर्मत हुन लागेको सीमा जागरण मञ्चका बिहार प्रदेश अध्यक्ष महेशकुमार अग्रवालले बताउनुभयो ।

चिन्ताजनक अवस्थामा पुगेको पुलको जीर्णोद्धार अति जरुरी रहेको उहाँले बताउनुभयो । केही दिन अगाडि नेपालतर्फका सरोकारवालाहरु वीरगन्जका नगरप्रमुख विजय सरावगी र पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अग्रसरतामा नाकालाई ब्यवस्थित गर्ने सवालमा बैठक बसेको थियो। सोही बैठकबाट सीमापारीका अधिकारीहरुसँग समन्वय गर्ने तय भए अनुसार पहल भएपछि मितेरी पुलको जीर्णोद्धार सम्भव भएको हो।

हिजो वीरगन्जस्थित महावाणिज्य दूतावासका काउन्सुलर शैलेन्द्र कुमारको अग्रसरतामा भारतका अधिकारीहरुले मितेरी पुलको स्थलगत अवलोकन गरी एक हप्ताभित्र यसको मर्मत कार्य सक्ने बताएका छन्। भारत बिहारको पथ निर्माण बिभागका इन्जिनियर अशोक कुमार, रक्सौल नगरपालिकाका सिइओ विजय कुमार, सहायक इन्जिनियर मृत्युन्जय कुमार र रक्सोल भन्सारका अधिकारीहरुसहितको टोलीले पुलको निरीक्षणपछि एक हप्ताभित्र काम सम्पन्न गर्ने सहमति जनाएका छन् ।

पुलको मध्य भागबाट यता नेपालतर्फ भागमा ५० मिटर र पारीको आवश्यक भाग गरी ९६ मिटर खण्ड मर्मत तथा जीर्णोद्धारको काम गरिने सहायक इन्जिनियर मृत्युन्जय कुमारले बताउनुभयो ।

आजबाट नै काम शुरु गरिने उहाँले बताउनुभयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, सशस्त्र प्रहरी भन्सार गुल्मका सशस्त्र प्रहरी निरीक्षक सुवर्णबहादुर बम, मिडिया फोर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, अभियन्ता प्रकाश खेतान र दिलिपराज कार्की लगायत हिजो यसका लागि पहल गर्न रक्सोल पुगेका थिए।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन