२०६२÷२०६३ सालको लोकतान्त्रिक आन्दोलन सफल भएको आज ११ वर्ष पूरा



बैशाख ११ २०६२÷२०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज ११ वर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईंदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रतिनिधिसभा पुनस्र्थापनाको माग सहित सडकमा उत्रिएका तत्कालीन सात राजनीतिक दल र सशस्त्र आन्दोलनमा रहेको तत्कालीन नेकपा माओवादी बीचको सहकार्यले जनआन्दोलन सफल भएको थियो । जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिनिधि सभा पुनस्र्थापना गरी आफूले लिएको कार्यकारी अधिकार फिर्ता गरेको दिन बैशाख ११ को ऐतिहासिक महत्व रहेको छ । जनआन्दोलन सफल पार्ने क्रममा २५ जना नेपालीले जीवन बलिदान गरेका थिए भने थुप्रै घाइते भएका थिए । जनआन्दोलनको सफलताको जगमै विस्तृत शान्ति सम्झौता भई शान्ति प्रक्रिया आरम्भ भएको थियो भने दुई पटक संविधानसभाको निर्वाचन समेत भएर लोकतान्त्रिक संविधान जारी भएको थियो । संविधानसभाबाट नयाँ संविधान मुलुकले प्राप्त गरे पनि त्यसको कार्यान्वयनमा अझै निकै अल्झनहरु रहेका छन् । यसैबिच लोकतन्त्र दिवसको अवसर पारेर वीरगञ्ज उपमहानगरपालिका कार्यालयले सोमबार देखि पोखरी सरसफाई अभियान शुरु गरेको छ । सोमबार मुर्ली पोखरीको सरसफाई गरेर उपमहानगरपालिका कार्यालयले नगर भित्र रहेका. पोखरीहरु सरसफाइ अभियान शुरु गरेको हो । अभियानको पहिलो दिन आज उपमहा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले मुर्ली पोखरीको डिलमा पहेलो रंगको ‘ खुल्ला दिसामुक्त क्षेत्र’ लेखिएकोे झण्डा गाडेर अभियानको उद्घाटन गर्नुभएको हो । उहाँले पोखरी सँस्कृति, सभ्यता परिचायक र मानिसका लागि दैनिक जीवनमा नभई नुहने पानी सञ्चित गर्ने स्थान भएकोले यसलाई जोगाउन स्थानीयबाटै पहल हुनुपर्ने बताउनुभयो । वीरगञ्ज नगरका पोखरीहरुलाई सरसफाईको अनुपम नमुना बनाउँदै १० दिनभित्र नगरमा रहेका ४५ वटा पोखरी सरसफाई गर्ने लक्ष्य राखिएको छ । मुर्ली पोखरी टोल विकास संस्थाका अध्यक्ष साजिद मन्सुरीको अध्यक्षतामा भएको आजको कार्यक्रममा सरसफाई विज्ञ तवरेज अहमदले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सहसचिव आरके पटेल, पूर्व अध्यक्ष केसि लामिछाने, वडा नागरिक मञ्चका विरेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान