मोरङमा बस र मोटरसाइकल ठोकिँदा चार जनाको मृत्यु
चैत्र १० मोरङको बयरवन–९ कानेपोखरीमा बुधबार राति यात्रु बस र मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार मृत्यु भएकामा मोरङ लेटाङ–३ का १८ वर्षिय देवेन्द्र लिम्बु र २० वर्षिय तिलक लिम्बु, रुपन्देही बुटवलका ७८ वर्षिय पुरुषोत्तम सुवेदी र ६८ वर्षिय टीका सुवेदी रहेका छन् । झापाको काँकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा भएको दुर्घटनामा घाइते भएका २१ जनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै बुधबार राति नै मोरङको बयरबन–९ कानेपोखरीमै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो भने पछाडी सवार गम्भीर घाइते छन् । घाइतेको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।