पर्साको महुवनमा दलितहरुको नेतृत्वमा महायज्ञ शुरु
चैत ३० पर्साको महुवनमा दलितहरुको नेतृत्वमा बुधबारदेखि महायज्ञ शुरु भएको छ । बुधबारदेखि शुरु भएको यज्ञको भव्य रुपमा कलश तथा जलयात्रा समेत निकालिएको छ । बाजागाजा सहित एकडारवा, लखनपुर, प्रसौनीका महिला, पुरुष र युवाहरुको, सहभागितामा निकालिएको कलश यात्रामा ७ सय २१ जना कन्या कुमारीहरुले सोलखपुरको उतरबाहिनी नदीबाट जल लिएर यज्ञ स्थल आएका छन् । स्थानिय दलितहरुको नेतृत्वमा निकालिएको कलश यात्रामा २५ सयको संख्यामा महिला, पुरुष, युवायुवती तथा कुमारीहरुको सहभागी भएको यज्ञ समितिका सचिव जिउत रामले बताउनुभयो । अन्य समुदायले गर्ने महायज्ञमा दलितलाई बाहिर राख्ने गरिएको विरोधमा छुवाछुतको परम्परा तोडदै महुवनका दलितहरु आफनै नेतृत्वमा यज्ञको आयोजना गरेका हुन् । पुजाको चौकामा बस्नेदेखि लिएर प्रसाद वितरण समेत दलितहरुले नै गर्ने सचिव जिउत रामले बताउनुभयो । महायज्ञको अन्तिम दिन सहभोजको आयोजनामा सबै जातजातीलाई सहभागि हुन निम्तो दिईएको आयोजकले जनाएको छ । महायज्ञ ९ दिन सम्म चल्नेछ ।