संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा जिल्ला निर्वाचन कार्यालय घेराउ
बैशाख ३ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले आइतबार जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।संविधान संशोधन नगरी निर्वाचन गर्न लागेको विरोधमा आन्दोलनमा रहेको मोर्चादले दुईघण्टा निर्वाचन कार्यालय घेराउ गरेका हुन् । केन्द्रिय आन्दोलनका कार्यक्रम अनुसार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म दुई घण्टा जिल्ला निर्वाचन कायालय पर्सामा घेराउ गरिएको संघिय समाजवादी फोरम नेपालका दुई नं प्रदेश प्रवक्ता सलाउद्दिन अहमदले जानकारी दिनुभयो । मधेशको माग पुरा गर, मधेस विरोधी निर्वाचन खारेज गर, संविधान संशोधन विना निर्वाचन पाईदैन, निर्वाचन कार्यालयको काम काज ठप्प गर लगायतका नाराबाजी समेत गरेको थियो । जिल्ला निर्वाचन कार्यालय परिसरमै नाराबाजी र विरोध प्रदर्शन गरिएको सदभावना पार्टीका वीरगञ्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिनुभयो । संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य करिमा वेगम, जिल्ला अध्यक्ष प्रदिप यादव, पूर्व मन्त्री मोहनलाल चौधरी, हरि नारायण रौनियार, तमलोपाका केन्द्रिय सदस्य रमतुल्लाह खान, सदभावनाका ईमदाद गद्दी, प्रेमबाबु पटेल लगायतको सहभागीता रहेको थियो ।