वीरगन्जको लिंक रोडमा भेटिएको ग्याँस सिलण्डर सेनाद्धारा डिस्पोज
बैशाख ३ पर्सावीरगञ्जको लिंकरोडमा आज भेटिएको वेवारिसे झोलामा सि आर ओआइ इ एन लेखिएको ग्याँस सिलिण्डरलाइ नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । घण्टाघर देखि बसर्पाक जाने लिंकरोडमा अवस्थित मेरी स्टोप्स सेन्टर अगाडिको सडक छेउमा बिहान ११ बजे बेवारिसे अवस्थामा कालो रंगको झोला भेटिएपछि झोला भित्र बम रहेको आशंकामा त्यस क्षेत्रको जनजीवन आतंकीत बनेको थियो । झोला भेटिएको स्थानलाइ प्रहरीले नियन्त्रणमा लिएर लिंक रोडमा यात्रु र सवारीसधानको आवागमनमा रोक लगाएको थियो । वीरगन्जमा रहेको नेपाली सेनाको बरखगणबाट आएको सेनाको बम डिस्पोजल टोलीले झोला माथि विस्फोटक पदार्थ राखेर डिस्पोज गर्दा झोला भित्र सि आर ओआइ इ एन लेखिएको ग्याँस सिलिण्डर भेटिएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । झोलामा बम नरहेको स्पष्ट पार्दै उहाले कुनै व्याक्तिले तर्साउनका लागि यस्तो काम गरेको हुन सक्ने बताउनु भयो । झोला भित्र भेटिएको सि आर ओआइ इ एन लेखिएको ग्याँस सिलिण्डर के का लागि प्रयोग गरिन्छ भन्ने जानकारी आफुलाइ नभएको भन्दै उहाले यस बारेमा अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।