बङगलादेशको बहुराष्ट्रिय कम्पनीले सिमरामा नयाँ उद्योग सन्चालनमा ल्यायो
बङगलादेशको बहुराष्ट्रिय कम्पनी प्रान आरएफएलले बाराको सिमरामा नयाँ उद्योग सन्चालनमा ल्याएको छ । काठमाडौंको मुलपानीमा तीन वर्ष पहिले हिमाड्री फुड्स प्राली नामको कम्पनी स्थापना गरि कुरकुरे, चिप्स लगायतका ‘ड्राइ फुड’ उत्पादन गर्दै आएको बङगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानले वीरगन्ज पथलैया औद्यागिक कोरिडोर अन्तर्गत बाराको सिमरामा पनि चार महिना पहिले उद्योग स्थापना गरि लिची र आँपको स्वादमा चकलेट , क्यान्डी, चुईगम, ललीपप लगायतका सामानहरुको उत्पादन सुरु गरेको हो । त्यसका लागि प्रानले सिमरा उपमहानगरपालिका स्थित अशोक स्टील नजिक एउटा पुरानो उद्योग भाडामा लिएको छ । पछिल्लो समय नेपालमा प्रान ब्राण्डका उत्पादनको माग बढ्न थालेपछि लगानी विस्तार गरिएको कम्पनीका मार्केटिङ म्यानेजर शशिम लामाले जानकारी दिनु भयो । आगामी दिनमा जुस लगायत अन्य पेय पदार्थको पनि उत्पादन शुरु गर्ने योजनामा रहेको लामाले बताउनु भयो । प्रानको काठमाडौं र सिमरा उद्योगमा गरि दुई सय जनाले रोजगारी पाएका छन् । बङगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानले चीन, मलेसिया, दुबई, भारत लगायतका मुलुकमा पनि आफनो उद्योग स्थापना गरिसकेको छ ।