पोखरीया अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको अभाव सेवाग्राहीहरु मर्कामा



बैशाख २९ पर्साको पोखरीया नगरपालिमकामा रहेको पोखरीया अस्पतालमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले निशुल्क उपलब्ध गराउँदै आएको एन्टी रेबिज भ्याक्सिनको पोखरीया अस्पतालमा अभाव भएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रत्येक महिना ५ सय भाईल दिने गरेकोमा बैशाख महिनामा भने २ सय ५० भाईल मात्रै आएकोले १५ दिन अगाडि नै सक्किएको पोखरीया अस्पतालका अहेब वृजेश द्विवेदीले जानकारी दिनुभयो । कुकुरले टोकेका विरामीहरुका लागि पोखरिया अस्पतालबाट तीन पटकका लागि निशुल्क एन्टी रेबिज भ्याक्सिन उपलब्ध गराउने गरिएको छ । चिकित्सकका अनुसार जाडोमा भन्दा गर्मी मौसममा जीवजन्तुहरुले मानिसहरुलाई बढी आक्रमण गर्ने गरेका कारण रेबिज विरुद्धको सुईको बढी आवश्यकता पर्ने गरेको छ । गर्मी बढेसँगै अस्पतालमा कुकुरले टोकेका विरामीहरु बढी आउन थालेको तर भ्याक्सिन नभएकोले सेवाग्राहीहरुलाई त्यसै फर्काउनुपर्ने बाध्यता रहेको द्विवेदीको भनाई छ । पोखरीया अस्पतालमा हिजो आज दैनिक १५÷२० जना कुकुरले टोकेका विरामीहरु उपचारका लागि आउने गरेको अस्पताललाई उद्दृत गर्दै हाम्रा सहकर्मी लालबाबु बानियाँले जनाएका छन् । पोखरियामा मुडली, विरञ्चीवर्वा, हरिहरपुर विर्ता, मसिहानी, लंगडी, लगायतका गाँउबाट मानिसहरु उपचारका लागि आउने गरेका छन् । सरकारी अस्पतालमा भ्याक्सिनको अभाव भएका कारण सर्वसाधरणहरु महंगोमा भ्याक्सिन खरिद गर्न बाध्य भएका छन् । सरकारी अस्पतालमा निशुल्क भनिएपनि भ्याक्सिनका लागि १ सय रुपैंया लिने गरिएको छ भने नीजि औषधी पसलहरुले ५ सय रुपैंया लिने गरेका छन् । संक्रमित बाघ, स्याल, बाँदर जस्ता जंगली जनवार, भुस्या तथा घर पालुवा कुकुर, विरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरुले आवश्यकता हेरि तीन देखि पाँच भाईल सुई लगाउन सल्लाह दिने गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन