मधेस , महन्थ ठाकुरको बपौती नभएको युवा संघ नेपालका अध्यक्ष पहरीको भनाइ
जेठ १९ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजिव पहरीले एमाले पार्टीले हा¥यो भने मुलुकले नै हार्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाले बिहबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पहरीले आफ्नो मुलुकमा बसेर छिमेकीको चाप्लुसी गर्ने प्रवृत्तिलाई युवा संघले स्वीकार गर्न नसक्ने बताउनुभयो । आफूलाई मधेसको मसिहा ठान्ने मधेसी नेताहरुकै कारण मधेसको अवस्था विग्रिएको भन्दै अध्यक्ष पहरीले मधेस , महन्थ ठाकुरको बपौती नभएको टिप्पणी गर्नुभयो । एमालेका नेताबाट त्रुटी भएको हुन सक्ने भन्दै अध्यक्ष पहरीले त्यसका लागि आफूहरुले मधेसी जनतासँग माफी माग्ने बताउनुभयो । घरमा झण्डा जुन पार्टीको राखे पनि एमालेलाई मत दिएर जिताउन उहाँले आग्रह गर्नुभयो । युवा संघका सचिवालय सदस्य रमेश आचार्यले दास्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर युवा संघले अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । एमाले र युवा संघका बारेमा फैलाईएको भ्रम चिर्न जेठ १४ गते देखि प्रदेश नंबर १, २, ५ र ७ मा विशेष युवा परिचालन अभियान सञ्चालन गरिएको उहाँको भनाई थियो । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा एमाले पर्साका संयोजक प्रभु हजरा, एमाले प्रचार प्रसार समिति सदस्य अरविन्द सिंह, युवा संघ पर्साका अध्यक्ष श्याम गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जारा लगायतको उपस्थिति रहेको थियो ।