एमालेसंग हिमचिम बढेको कुरा निराधार हो—राजपा अध्यक्ष ठाकुर
साउन १ बीरगंज
राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेसंग राजपाको हिमचिम बढेको कुरा निराधार भएको बताउनु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आईतबार आयोजित पार्टी प्रवेश तथा पत्रकार सम्मेलनमा सन्चारकर्मीहरुले राखेको जिज्ञासामा अध्यक्ष ठाकुरले एमालेका नेताहरुसंग राजपाका कोहि पनि शीर्ष नेताहरुले कुनै पनि संवाद र छलफल नगरेको बताउनु भयो । मधेसका एजेण्डाका सवालमा एमालेको पुरानै अडान अहिले पनि यथावत नै रहेको र उसले अहिले पनि मधेसका माग पुरा गर्न नचाहेको भन्दै अध्यक्ष ठाकुरले भन्नु भयो ,‘ पुर्वसभामुख दमननाथ ढुंगानाको पहलमा दोश्रो तहका केहि नेताहरुले भने एमालेका नेताहरुसंग एक दुइ पटक छलफल मात्रै गरेका छन् । अध्यक्ष ठाकुरले संविधान संशोधन र जनसंख्याको आधारमा मधेसमा स्थानीय तहको संख्या थप नगरिए सम्म यथास्थितीमा राजपा तेश्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने स्पष्ट पार्नु भयो । सरकार गठनका बेला राजपासंग भएको तीन बुदे सम्झौता कार्यान्वयन भएपछि मात्रै राजपाले चुनावमा भाग लिने उहाले बताउनु भयो । हामीले कुनै नयाँ माग गरेका छैनौ , पुरानै सहमति र सम्झौता लागु हुनु पर्छ भन्ने हाम्रो माग हो , उहाले भन्नु भयो ,‘ मधेसका मागका बारेमा एमालेले अहिले पनि दोधारे कुरा गरेर बहानाबाजी गरिरहेको छ । निर्वाचन आयोगमा दल दर्ताका बारेमा सोधिएको जिज्ञासामा राजपा अध्यक्ष ठाकुरले ६ दल मिलेर नयाँ पार्टी राजपा बनेपछि निर्वाचन आयोगमा दल दर्ता गरिएको भन्दै निर्वाचन आयोगमा दल दर्ता गरिएपनि मधेसका माग सम्बोधन नभए सम्म राजपा चुनावमा नजाने स्पष्ट पार्नु भयो । कार्यक्रममा राजपाका महासचिव विमल श्रीवास्तव , सहमहासचिव निजामुदिन समानी , केन्द्रिय सदस्यहरु शशी कपुर मिया , जनार्दन यादव , किशोरी यादव , श्याम गुप्ता, दिपक तिवारी , पुष्पा पाण्डे, पर्सा अध्यक्ष पुरुषोत्तम झा , बारा अध्यक्ष नवलकिशोर सिंह , जिल्ला सचिव चन्दन मिश्रा , जिल्ला सदस्य रन्जन मिश्रा , बारा प्रवक्ता रमेश सर्राफ , बाराका विधार्थी संयोजक सन्तोष यादव लगायतको सहभागीता रहेको थियो ।