वडा नम्बर १४ मा सीसीटिभी क्यामेरा जडान गर्न माग
वीरगन्ज, ७ साउन । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ लिङ्करोड पिपराटोल विकास समितिले सिसिटिभी जडानको लागि जिल्ला प्रहरी कार्यालय, पर्साको ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाललाई भेटी वीरगंज महानगर–१४ लिङ्करोडमा सिसिटिभी आवश्यक भएको जानकारी गराएको थियो । अध्यक्ष गौतमसहितको टोलीले नगरप्रमुख विजयकुमार सरावगीको निवास तथा उच्च अदालत, जिल्ला अदालतका अधिकांश न्यायाधीशहरूको बसोबास रहेको तथा अन्य उच्च ओहदामा रहेका व्यक्तिहरू सो टोलमा भएका कारण सुरक्षाको लागि सिसिटिभी जडान गर्न आग्रह गरेको थियो । प्रवक्ता खनालले यसबारेमा पहल गर्ने आश्वासन दिनुभयो । टोलीमा डा अशोक दास, पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने लगायतको सहभागिता थियो ।