वीरगन्जका दुईवटा भन्सार नाकाबाट गत आर्थिक बर्षमा ८२ अर्बको बैदेशिक कारोबार
वीरगन्ज, १२ साउन । वीरगंजस्थित दुईवटा भन्सार नाकाबाट गत आर्थिक बर्ष २०७७÷७८ मा करीब ५ खर्ब ८२ अर्बको वैदेशिक कारोबार भएको छ । वीरगंजको आइसिपी र सुक्खा बन्दरगाहा भन्सार नाकाबाट सो मूल्यबराबरको सामान आयात–निर्यात भएको छ ।
वीरगंज भन्सार नाकाको आइसिपी भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँँको मालसामान आयात भएको छ भने रु ५३ अर्ब रुपैयाँँको सामान निर्यात भएको छ । त्यसैगरी, सुक्खा बन्दरगाहा भन्सार नाकाबाट रु २६ अर्ब १६ करोडको मालसामान भित्रिएको थियो भने रु ३८ करोड रुपैयाँबराबरको सामान भारत तथा तेस्रो मुलुकमा निकासी भएको भन्सार अधिकारीहरूले बताएका छन् ।
वीरगंज भन्सारबाट अघिल्लो आव २०७६÷७७ को तुलनामा गत आवको कुल व्यापार २७ प्रतिशतले बढेको छ । आयातको आकार २४ प्रतिशतले वृद्धि हुँदा निर्यात ६६ प्रतिशतले बढेको भन्सारको तथ्याङ्क छ । निर्यात व्यापारमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको मुख्य योगदान रहेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।

आवको अन्त्यतिर सवारीसाधन चल्न थालेकाले इन्धनको आयात बढेको थियो । नयाँ सवारीसाधनको जाँचपास पनि पछिल्लो महीनामा बढेको भन्सारको तथ्याङ्कले देखाउँछ । जुत्ता, चप्पल, हार्डवेयर, उपकरण, गाडीका पार्टपुर्जाजस्ता सामानको आयात भने घटेको जानकारी पौडेलले दिनुभयो । वीरगंज भन्सार नाकाबाट भित्रिने मुख्य वस्तुमा सवारीसाधन र पेट्रोलियम पदार्थ मुख्य हुन् ।
निर्याततर्फ भटमासको तेल, जुस, कपडा, जुत्तालगायतका सामग्री रहेका छन् । सुक्खा बन्दरगाह भन्सारबाट गत वर्ष फलाम उद्योगका कच्चा पदार्थ, केराउ, मदिरा, तोरी, मरिच, सूर्यमुखीको अर्धप्रशोधित तेल बढी भित्रिएको उक्त भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलले जानकारी दिनुभयो । यो अवधिमा चाउचाउ, अचार, पीठो, टायर, छाला, जडीबुटीलगायतका वस्तु निर्यात भएको कट्टेलले बताउनुभयो ।