पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकको अवधिमा बाघको संख्यामा उलेख्य बृद्धि
वीरगन्ज,१७ साउन । पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या १५ वटा बढेको छ । सन् २००९÷२०१० मा गरिएको गणनामा निकुञ्जमा ४ वटा वयस्क बाघ थिए । उक्त संख्या अहिले १९ पुगेको छ ।
निकुञ्जमा बाघको संख्या बढ्नुमा यसको आहारा प्रजातिका जनावरको सख्यां बढ्दै जानु र बाघ संरक्षणमा गरिएको प्रयासको सकारात्मक परिणाम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताउँनुभयो । निकुञ्जमा हाल १९ वटा घाँसे मैदानका साथै पानीको स्रोतमा खोलानाला र ठाउँठाउँमा कृत्रिम पोखरी छन् ।
निकुञ्जका विभिन्न क्षेत्रमा माउ र बच्चा बाघ सँगै देखिएकाले गणनाको भन्दा पनि बढी हुन सक्ने साहले बताउनुभयो । करिब २ वर्षअघि निकुञ्जको क्षेत्र पूर्वी भेगमा विस्तार भएपछि हल्खोरिया दह क्षेत्रमा पनि गत वर्ष २ वटा डमरु र माउ बघिनी देखिएका थिए । यसले बाघले निकुञ्जमा नयाँ बासस्थान बनाएको संकेत गर्छ ।

त्यस क्षेत्रमा पहिले बाघको बसोबास थिएन । यसबाहेक करिब एक दशकअघि रामभौरी, भाठा, रमौली, प्रतापपुर निकुञ्जभित्र रहेका मानवबस्तीलाई स्थानान्तरण गरिएपछि पनि बाघलगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि भएको साहले बताए । निकुञ्जमा बाघको संख्या वृद्धिसँगै चुनौती पनि बढेको छ ।
बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धि, निकुञ्जमा लाग्ने मेला प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किमि क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । यो निकुञ्ज जंगली हात्तीको बासस्थानको रूपमा प्रसिद्ध छ ।
२ वर्षमा लामो लकडाउन र निषेधाज्ञाका कारण निकुञ्जमा मानवीय हस्तक्षेप न्यून भएपछि निकुञ्जमा बाघको गतिविधि बढेको थियो । पहिलो लकडाउनमा आधाभारस्थित निकुञ्जको मुख्य कार्यालय तथा त्यसवरपरको क्षेत्रसम्मै बाघ देखिएको थियो ।
निकुञ्जमा बाघको संख्या वृद्धिसँगै बाघ आहाराको खोजीमा निकुञ्ज आसपासको राष्ट्रिय वनमा समेत प्रवेश गर्ने गरेको छ । गतवर्ष पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो ।