किनमेल गर्न भारत गएका पर्साको ग्रामीण भेगका गाँउलेसंग भारतीय एसएसबीद्धारा फेरि दुव्र्यवहार
प्रमोद यादव
वीरगन्ज,१९ साउन । नेपालको सीमासंग जोडिएको भारतीय बजारमा किनमेल गर्न जाने पर्साको ग्रामीण भेगका नेपालीलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले फेरि दुव्र्यवहार गरेका छन् ।
पर्साको जिराभवानी गाउँ पालिका वडा नम्बर १ माहदेवपट्टी र बलुवाका स्थानीयवासी घरायसी सामान किन्न , भारतको भङ्गहा बजार गएका बेला आज विहान ९ बजे भारतीय एसएसबीले दुव्र्यवहार गरेको बलुवाका स्थानीय सदाम आलमले बताउनुभयो ।
भारतीय बजार भङगाहाबाट घरायसी सामान किनमेल गरेर फर्किएका नेपालीहरुलाइ भारतीय एसएसबीले सिमामा रोकेर सामान खोसेर गालीगलौज पनि गरेको आलमले जानकारी दिए ।
भङगाहा जस्तै पर्सासंग जोडिएका अन्य ग्रामीण भेगका नाकामा पनि भारतीय एसएसबीले नेपालीलाइ अनावश्यक बहानामा रोकेर दुव्र्यवहार गर्दै आएका छन् । ग्रामीण भेगका स्थानीयवासी , खाद्यान्न , मरशाला , लत्ताकपडा जस्ता घरायसी सामान किनमेल गर्न र औषधी उपचारका लागि नजिकको सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् ।

भारतीय बजारमा गएर किनमेल गरि फर्कने क्रममा सीमामा खटिएका भारतीय एसएसबीले नेपालीहरुलाइ रोकेर सामान खोसी दिने , गाली गलौजका साथै कुटपिट समेत गर्ने गरेको हाम्रा ग्रामीण भेगका सहकर्मीहरुले जानकारी दिएका छन् ।
खासगरि धान खेतीको सिजनका बेला , ग्रामीण भेगका किसानले भारतीय बजारबाट खरिद गरेर एक दुइ बोरा रासायनिक मल ल्याउदा सीमामा एसएसबीले मल खोसेर ज्यादती गर्दै आएका छन् ।
भारतीय सीमामा खटिएका भारतीय एसएसबीले वर्षौ देखि नेपालीलाइ दुख दिदै ज्यादती गर्दै आएको भएपनि नेपालको प्रहरी प्रशासनले यस बारेमा चासो नै नदेखाएकाले आफुहरु निरिह बन्दै आएको आलमले बताउनुभयो ।