जसपा विवाद ठाकुर–महतो समुहले समानान्तर गतिविधि सञ्चालन गर्दै
वीरगन्ज,२२ साउन । निर्वाचन आयोगबाट आधिकारिकता गुमाएका जनता समाजवादी पार्टीको महन्थ ठाकुर समुहले समानान्तर गतिविधि सञ्चालन गरेको छ । महन्थ ठाकुर समुहले आज बारा , सिरहा, महोत्तरी र सप्तरीमा कार्यकर्ता भेला गर्दै आफूहरुको आगामी कदम बारे जानकारी गराउँदैछ ।
जसपाका केन्द्रीय सदस्य केशब झाका अनुसार बाराको कलैयामा अहिले चलिरहेको बैठकमा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम छ । सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले , सिरहामा अनिलकुमार झा, सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइनले सम्वोधन गर्ने कार्यतालिका रहेको नेता केशव झाले बताउनुभयो ।

महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्वोधन गर्ने कार्यक्रम रहेकोे झाले जानकारी दिनुभयो ।महन्थ ठाकुरले अस्ति बुधबार राती अपिल जारी गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवका कमी कमजोरीहरु के–के छन् भन्ने कुरा जनताले थाहा पाउनुपर्छ भन्दै जनतामाझ जान लागेको बताउनु भएको थियो ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि नयाँ पार्टी गठनको तयारीस्वरुप ठाकुर पक्षले आज पार्टीका अगुवा कार्यकर्ताको उपस्थितिमा पार्टीको विस्तारित बैठक बोलाएको हो ।
