मनसुनी वायुको प्रभावः देशका विभिन्न स्थानमा भीषण वर्षा हुने
वीरगन्ज,७ भाद्र । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ ।
यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ ।
गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ ।
यस्तै, प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने छ ।
तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ ।भोलि पनि मौसम यस्तै रहने छ ।
पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि थप सक्रिय भएको मौसमविद्ले बताएका छन् ।