तीनै तहका सरकारले आफूहरुका लागि केही नगरेको पर्साका तेश्रोलिंगीहरुको गुनासो
माधुरी महतो
वीरगन्ज,९ भाद्र । पर्साको तेश्रोलिंगी समुदायका मानिसहरुले तीन वटै तहका सरकारले तेश्रोलिंगी समुदायका लागि केही नगरेको गुनासो गरेका छन् । तेश्रोलिंगी समुदायका मानिसले पनि स्वतन्त्रपुर्वक बाच्न पाउन पर्ने , स्वास्थ्य, शिक्षा , रोजगारी लगायतका सबै सेवा सुविधा पाउनुपर्ने अधिकार भएपनि समुदायमा हालसम्म आफुहरुको अस्तित्व नै स्वीकार गर्न नसकेको गुनासो उनीहरुको छ ।
सहयात्री समाज पर्साकी ममता तेश्रोलिंगीले , राज्यले हालसम्म केही पनि सुविधा नदिएको गुनासो गर्नु भयो । अरु सरह नै नेपालको नागरीक तेश्रोलिंगी भएपनि सरकारको विभेदका कारण आफुहरुले नेपालको नागरिक भएको महशुश गर्न नपाएको दुखेसो उहाले पोख्नुभयो । उहाँले तीनै तहका सरकारले आफुहरुलाई हेरेर पनि नहेरेको जस्तो व्यवहार गरेको गुनासो गर्नुभयो ।
सहयात्री समाज नेपालका प्रोजेक्ट कोअर्डिनेटर समता बमले लैंगिक ,यौनिक , अल्पसंख्यक तथा समलिंगी र तेश्रो लिंगी लगायतको विषयमा सरकारले केहीपनि सम्बोधन गर्न नसकेको बताउनुभयो ।
उहाँले निलहीरा समाजले तेश्रो लिंगी समुदायको हकमा सन् २००१ देखी नै वकालत गर्दै आएको बताउनुभयो । वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले तेश्रोलिंगीको विभिन्न विषय तथा समस्यालाई लिएर नगरपालिका गम्भिर रहेको बताउनुभयो ।
उहाँले केही गर्न खोजीएको भएपनि तेश्रो लिंगी समुदायका मानिसहरु खासै सम्पर्कमा नै आउन नसकेको दाबी गर्नुभयो ।