ठोरी गाउँपालिकामा केहि साता यता भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै
माधव तिमिल्सिना
वीरगन्ज,९ भाद्र । पर्साको ठोरी गाउँपालिकामा केहि साता यता भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । ठोरीका विभिन्न स्थानमा सन्चालनमा रहेका क्लिनिकहरुमा भाइरल ज्वरोका बिरामी दिनहुुँ बढ्न थालेको क्लिनिक संचालकहरुले बताएका छन् ।
गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले भाइरल ज्वरोका बिरामीहरु बढेको सुवर्णपुरमा उन्नति मेडिकल हलका संचालक सुरेश साहले बताउनुभयो । दैनिक १० देखि १५ जना भाइरल ज्वरोका बिरामीहरु उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
प्राय सबैजसो बिरामीलाई ज्वरो आउने , टाउको दुख्ने , रुघाखोकी लाग्ने , शरीर दुख्ने लगायतका लक्षणहरु देखिने गरेको साहले बताउनुभयो । ठोरीकै विजयवस्तीमा सन्चालनमा रहेको पर्सा हेल्थ क्लिनिक तथा गौरो क्लिनिकमा पनि ज्वरोका बिरामीहरुको चाप बढेको छ ।
पर्सा हेल्थ क्लिनिकमा उपचाररत अधिकांश बिरामीमा टाईफाईड समेत देखिएको क्लिनिक संचालक अश्विनी कुमार यादवले जानकारी दिनुभयो । मौसम परिवर्तनको समय भएकाले यतिबेला ज्वरोका बिरामी बढ्नु स्वभाविक भएको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो । उहाले ठोरीमा ज्वरोका बिरामीको संख्या बढेको भएपनि महामारीको अवस्था भने नरहेको बताउनुभयो ।