वीरगन्ज महानगरपालिकामा कक्षा १२ का विद्यार्थीहरुलाई आज र भोली कोरोना भाईरस विरुद्धको खोप लगाईदै
वीरगन्ज,१६ भाद्र । वीरगन्ज महानगरपालिकामा कक्षा १२ का विद्यार्थीहरुलाई आज र भोली कोरोना भाईरस विरुद्धको खोप लगाईदै छ । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले दिएको विवरण अनुसार पाँचवटा खोप केन्द्रबाट कक्षा १२ का ४ हजार ३ सय २० जना विद्यार्थीलाई अस्टे«जनेका खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यलय पर्साका निमित्त प्रमुख नवल किशोर साहले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिकाको त्रिजुद्ध मावि, रघुविरराम महाविर कन्यामावि, वीरगन्ज पब्लिक मावि, नेशनल इन्फोटेक कलेज, सिद्धार्थ इन्टरनेशनल कलेज र वगही प्राथामिक स्वास्थ्य केन्द्र गरी पाँचवटा खोप केन्द्रबाट कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यावस्था गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
खोप लगाउन जाँदा कक्षा १२ मा अध्ययन गरेको प्रमाण खुल्ने परिचय पत्र लिएर जान पनि महानगरपालिकाले अनुरोध गरेको छ । १४ वटा स्थानीय तह मध्य १३ वटा स्थानीय तहमा कक्षा १२ का विद्यार्थीहरुलाई भने यसअघि नै कोरोना विरुद्धको खोप लगाई सकिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख साहले बताउनुभयो ।
वीरगन्ज महानगरपालिकामा आज र भोली खोप लगाउन बाँकी रहेमा फेरी समयावधि बढाएर खोप लगाईने उहाँको भनाई छ । वीरगन्ज महानगरपालिकाले दिएको विवरण अनुसार महानगरपालिका भरीका ३६ वटा विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई खोप दिईने छ ।