पर्साको ठोरी मा पुनः खानेपानीको हाहाकार
माधव तिमिल्सिना
ठोरी,१६ भाद्र । पर्साको ठोरी गाउँपालिका वडा नम्बर –४ मा पुनः खानेपानीको हाहाकार भएको छ । पटकपटक जीर्ण निर्मलवस्ती खानेपानी आयोजना बिग्रेकाले खानेपानी बन्द हुने गरेको साविक निर्मलवस्ती गाविसमा पर्ने वडा नं ६ मा गत शनिबारदेखि फेरि खानेपानी बन्द भएको हो।
यस अघि गत बैशाख र पुनः असारमा एक साता भन्दा लामो समय बन्द खानेपानी फेरि गत शनिबारदेखि बिग्रेपछि स्थानीयलाई सास्ती भएको छ। खानेपानीको ट्याङ्की रहेको नेपाली सेनाको पोस्ट रहेको ठाउँमा रहेको पानीको भल्भ चेम्बर नै बिग्रेकाले पानी संचालन बन्द भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष हस्त बहादुर पाख्रीनले जानकारी दिनुभयो ।
उहाका अनुसार गाउँ आउने खानेपानीको मुख्य भल्भ चेम्बर नै बिग्रेकाले सुन्दरटोल , शान्तिटोल, आठघर , मिलचोक , गुम्बालाईन , ठाडोलाईन , फायरलाईन लगायतका टोलहरुमा खानेपानी सन्चालन नै अवरुद्ध हुन पुगेको छ ।पर्सा राष्ट्रिय निकुञ्ज भित्रबाट पाइपलाईन मार्फत ल्याइएको खानेपानी बन्द भएपछि स्थानीयबासी मर्कामा परेका छन् ।
विशेषगरी गर्मीको मौसम भएकाले स्थानीयलाई नुहाउन , कपडा धुन , गाइवस्तुलाई पानी खुवाउन समस्या परेको हो। स्थानीयले पिउन र घरायसी प्रयोजनका लागि ठाउँ ठाँउमा सन्चालनमा रहेको डिप बोरिङको पानी प्रयोग गर्ने गरेको भएपनि सरसफाइ र पशुचौपायका लागि भने निर्मलवस्ती खानेपानी आयोजनाको पानी प्रयोग गर्ने गरेका छन् ।
शनिबारदेखि धारामा पानी नआउँदा वडा –४ को चोकचोकमा रहेको जापान सरकार सहयोगमा निर्माण भएको धारामा पानी लिन जानेको घुइँचो लागेको छ । घरमा पानी नभएकोले बिहान ५ बजेदेखि नै पानीको जोहो गर्न धारामा लाईन बस्नुपरेको ठोरी –४ कि स्थानीय सावित्री श्रेष्ठले बताउनुभयो ।
उता घरको सबै काम माया मारेर ३ दिनदेखि दिनहुँ पानीको जोहो गर्नमा नै समय खर्चेको अर्का स्थानीय महिला बिबीमाया पाख्रीनले जानकारी दिनुभयो । बन्द खानेपानी सुचारु गर्न अझै २ दिन लाग्ने खानेपानी उपभोक्ता समितिले जनाएको छ। आज ट्याङ्की खाली गरेर भल्भ चेम्बर निकालिने र भोलि मर्मत पश्चात् शुक्रबारदेखि पानी संचालन गर्ने तयारी भैरहेको उपभोक्ता समितिका अध्यक्ष पाख्रीनले बताउनुभयो ।
वडा ४ मा खानेपानीको ओभरहेड ट्याङ्की निर्माणको काममा भैरहेको ढिलासुस्तीले गर्दा स्थानीय पटकपटक खानेपानीको समस्या झेल्न बाध्य छन। जङ्गल भित्रबाट ल्याइएको पानी खान अयोग्य भएपनि स्थानीयले वर्षौंदेखि उपभोग गर्दै आइरहेका छन् । उक्त खानेपानी आयोजना समेत कहिले हात्तीले भत्काउने र कहिले आफैं बिग्रने गर्दा स्थानीय समय समयमा पानीको समस्या भोग्न बाध्य छन् ।