वीरगन्जमा झण्डै डेढ महिना पछि आज एक जना कोरोना संक्रमितको मृत्यु
क्रान्ति साह
वीरगन्ज,१७ भाद्र । वीरगन्जमा झण्डै डेढ महिना पछि आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका वडा नम्बर १ का ३३ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो ।
अस्पतालको कोभिड वार्डमा ७ दिन देखि उपचारत ती पुरुषको आज बिहान पौने २ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । भदौ १० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष त्यहि दिन नारायणी अस्पतालमा भर्ना भएका थिए ।
यसअघि पछिल्लो पटक गत असार २७ गते नारायणी अस्पतालमा उपचाररत पर्साकै सखुवा प्रसौनी गाँउपालिकाकी ६० वर्षिया संक्रमित महिलाको मृत्यु भएको थियो । त्यस यता वीरगन्जमा कोहि पनि संक्रमितको मृत्यु भएको थिएन । नारायणी अस्पतालको कोभिड वार्डमा हाल १ जना संक्रमित मात्र उपचाररत रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा हाल सकृय संक्रमितको संख्या १० जना मात्र रहेको छ । ती मध्ये ९ जना आफनै घरको होम आइशोलेसनमा रहेका छन् ।
दोश्रो लहरमा वीरगन्जमा पर्सा र अन्य जिल्लाका गरि हाल सम्म ३ सय ४१ जना संक्रमितको मृत्यु भएको छ । ती मध्ये पर्सा जिल्लाका १४० जना र अन्य जिल्लाका २०१ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साको कोभिड सम्पर्क व्याक्ति विनय श्रीवास्तवले जानकारी दिए । पहिलो लहरको संक्रमणका बेला भने वीरगन्जमा ८६ जना संक्रमितको मृत्यु भएको थियो ।