चालक अनुमति पत्र नवीकरण गरेर १० करोड ६६ लाख ९० हजार रुपैयाँ राजश्व संकलन
नारायणी डेक्स
वीरगन्ज,१७ भाद्र । वीरगन्जमा रहेको यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्षमा सवारी चालक अनुमति पत्र मार्फत १० करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।गएको आर्थिक वर्ष २०७७÷०७८ मा यातायात व्यवस्था कार्यालय वीरगञ्जले चालक अनुमतिपत्र जारी तथा चालक अनुमति पत्र नवीकरण गरेर १० करोड ६६ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।
जुन नयाँ सवारी चालक अनुमति पत्र जारी र पुराना चालक अनुमति पत्र नवीकरण गरेर राजश्व संकलन भएको हो । यसअघिको आर्थिक वर्ष २०७६÷०७७ मा भने राजश्व संकलन गएको आर्थिक बर्षको तुलनामा कम भएको थियो । कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६÷०७७ मा बढी समय कार्यालय बन्द भएको र सवारी चालक अनुमति पत्रको परीक्षा पनि हुन नसकेकाले राजश्व संकलनमा कमी आएको यातयात ब्यवस्था कायाृलय वीरगन्जका कर्मचारीहरुको भनाइ छ ।
त्यो आर्थिक वर्षमा जम्मा ८ करोड २२ लाख १५ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो । पछिल्लो २ वर्षदेखि कोभिडका कारण सवारी चालक अनुमति पत्रको काम ठप्प भएकाले राजश्वमा कमी आएको यातायात व्यवस्था कार्यालय वीरगञ्जका लाइसेन्स शाखा प्रमुख सुशील साहले बताउनुभयो ।
गएको आर्थिक वर्षमा मात्रै १२ हजार १२ जनाले नयाँ सवारी चालक अनुमति पत्र लिएको कार्यालयको अभिलेखमा उल्लेख छ ।जसमध्ये मोटरसाईकल चालकको लाइसेन्स लिनेको संख्या अधिक छ । एक वर्षको अवधिमा ४ हजार १ सय ४३ जनाले मोटरसाईकल चालकको नयाँ लाइसेन्स लिएका छन् ।
यस्तै सोही अवधिमा स्कुटी चालकको लाइसेन्स १ हजार २ सय १८ जनाले लिएको पनि कार्यालयको अभिलेखमा उल्लेख छ ।यो कार्यालय चालु आर्थिक बर्ष लागेपछि यही भदौ २० गतेबाट पुनः सवारी चालक अनुमति पत्रका लागि परीक्षा ट्रायल संचालन गर्ने तयारी गर्दैछ ।