कोरोना कहर बढेसँगै वीरगन्जका आँखा अस्पतालमा भारतीय बिरामीको संख्या घट्दै



वीरगन्ज,६ असोज । वीरगन्जका आँखा अस्पतालमा भारतीय बिरामीको चाप घटेको छ । नाकामा सहज आउजाउ नहुँदा भारतीय बिरामीको संख्या घटेको हो । सामान्य अवस्थामा भारतीय बिरामीको उपचार गन्तव्य रहेका यहाँका आँखा अस्पतालमा चहलपहल घटेको यहाँका आँखा अस्पतालहरुले बताएका छन् । वीरगन्जमा झन्डै आधा दर्जन आँखा अस्पताल रहेका छन् ।

कोरोना काल अगाडि वीरगन्जका आँखा अस्पतालमा बढी जसो बिरामी भारतीय नै हुने गरेका थिए । दृष्टि आँखा अस्पतालमा गत आर्थिक बर्षमा उपचारार्थ ५० हजार ४ सय ६९ बिरामी आएकोमा ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय भएको अस्पतालका सञ्चालक विश्वराज गौतमले बताउनुभयो । सामान्य अवस्था भएको भए यो तथ्यांक ठीक विपरीत हुने समेत गौतमको तर्क छ ।

करिब दुई बर्षदेखि भारतीय बिरामी घटेको उहाँले बताउनुभयो । दुई बर्ष अगाडि भने नेपाली भन्दा भारतीय बिरामीको संख्या आफ्नो सहित अन्य यहाँका आँखा अस्पतालहरुमा बढी नै हुने गरेको गौतमले बताउनुभयो । वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल कोअर्डिनेटर महेशसिंह धामीले आफ्नो अस्पतालको अवस्था यस्तै रहेको बताउनुभयो ।

नारायणी आँखा अस्पतालका सञ्चालक डा. पदमराज विष्टले २ पटकको लकडाउनले भारतीय बिरामीको चाप घटेको बताउनुभयो । कुनै समय नेपालका सीमावर्ती गाउँका बिरामीहरूको पनि आँखा उपचारको गन्तव्य भारतको सीतापुर आँखा अस्पताल हुन्थ्यो । बिस्तारै नेपालका आँखा अस्पतालहरूको गुणस्तरीय सेवाबारे चर्चा फैलिँदै गएपछि भारतीयहरू यता आउन थालेका हुन् ।

यहाँका आँखा अस्पतालमा सामान्य अवस्थामा कुल बिरामीमध्ये करिब ६० प्रतिशत भारतीय नै रहने गरेको आँखा अस्पतालका संचालकहरु बताउछन् । विशेष गरी भारतको बिहार र उत्तरप्रदेश राज्यबाट बिरामी आउने गरेका छन्  । सीमावर्ती भारतीय सहरहरूमा सामान्य मोतीबिन्दुको शल्यक्रिया गर्दा पनि कम्तीमा १० हजार रुपैयाँ खर्च हुने र सेवा पनि गुणस्तरीय नहुने समस्या छ ।

तर यहाँ सरदर २ हजार रुपैयाँ खर्च गरेर सहजै शल्यक्रिया गर्न सकिने भएकाले भारतीय बिरामीको आकर्षण नेपाली आँखा अस्पताल बनेको धेरैको बुझाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन