बाराको सिम्रौनगढ नगरपालिकाको कामकाज एघार दिनदेखि ठप्प



क्रान्ति साह
वीरगन्ज,७ असोज । बाराको सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरुले ११ दिन देखि सेवा ठप्प पारेका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । नगर अस्पताल तोडफोड गर्ने र कर्मचारी कुटपिटमा संलग्नहरु माथि कारबाहीको माग गर्दै सिम्रौनगढ नगरपालिका कार्यालयका कर्मचारीहरुरुले शिक्षा, स्वास्थ्य, वडा कार्यालय र नगरपालिकाबाट दिइने सबै सेवा तथा विकास निर्माणका काम भदौ २८ गते देखि बन्द गराएका हुन् ।

नगरपालिका कार्यालय र त्यस मातहतका सम्पूर्ण कार्यालय ११ दिन देखि ठप्प हुदा सेवाग्राहीहरु मर्कामा पर्नुका साथै विकास निर्माण सम्बन्धि कामहरु पनि प्रभावित भएका छन् । सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार साहले भने आफुहरुको माग पूरा गराउनका लागि गत मंगलबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाइएको भएपनि अहिले सम्म कुनै सुनुवाइ नभएको बताउनुभयो ।

अस्पतालमा भएको तोडफोड र कर्मचारीहरुलाइ गरिएको कुटपिट घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको भरपर्दो व्यवस्था नभएसम्म आफुहरु काममा नफर्किने साहले बताउनुभयो । नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीसँगै नगरपालिका कार्यालय तथा अस्पतालमा भौतिक सम्पत्ति तोडफोडले ठूलो नोक्सान भएको भन्दै उहाले आफुहरुलाइ सुरक्षाको प्रत्याभूती नदिए सम्म हडताल जारी नै रहने बताउनुभयो ।

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजय शंकर यादवले पनि घटनाको छानबिन र दोषीलाइ कार्यवाहीका लागि स्थानीय प्रशासन र प्रहरीले पनि चासो नलिएको बताउनुभयो । अहिले आफु काठमाण्डौमा रहेको भन्दै उहाले कर्मचारीहरुलाइ काममा फर्कन समन्वय गरिरहेको बताउनुभयो ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले पनि अहिले सम्म कसैलाइ पक्राउ नगरिएको बताउनुभयो । घटनाको कारण र घटनामा संलग्नहरुको बारेमा अनुसन्धान भइरहेको भन्दै उहाले छिटटै दोषीलाइ पक्राउ गरिने बताउनुभयो ।

सिम्रौनगढ नगरपालिका–२ मौवाही गाउँका सतिश साहका डेढ वर्षीय छोरालाई सर्पले डस्दा उपचार नपाएर मृत्यु भएको भन्दै मृतकका परिवार र गाउँका केही समूह मिलेर गत भदौ २८ गते सिम्रौनगढको नगरअस्पताल र नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए ।

शव सहित प्रदर्शनमा उत्रिएको आक्रोशित समूहले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत कुटपिट गरी घाइते बनाएको थियो । प्रदर्शनकारीको कुटपिटबाट नगरपालिकाका अपाङ्गता शाखाका कर्मचारी प्रयाग महतो सख्त घाइते हुनु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन