नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
बिरगन्ज,१० असोज । नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएको छैन । कोरोना संकटका कारण सरकारले गएको बर्ष चैत ११ गतेदेखि बन्द गरेको नेपाल भारत सीमानाकामा भारतीय यात्रुवाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
सीमानाकामा यात्रुवाहक भारतीय सवारी साधन खुला गर्नुपर्ने चौतर्फी माग र दबाव परेपछि सरकारले गएको असोज ५ गते सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म सीमा नाका भने खुला भएको छैन ।
गृहमन्त्रालय मातहतका कार्यालयहरुलाई सीमामा सहजीकरणका लागि पत्राचार गरिसकेको भएपनि अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले भन्सार कार्यालयहरुलाई सवारी प्रवेशको विषयमा कुनै निर्देशन नदिएकोले सीमामा भारतीय सवारी साधन आवतजावत हुन सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सीमा खोल्न मन्त्रालयबाट पत्र आईसकेपछि सम्बन्धित सबै कार्यालयहरुलाई जानकारी गराईसकिएको बताउनुभयो ।
तर, भन्सार विभाग अन्तर्गतको भन्सार कार्यालयहरुमा पैदल यात्रीहरुलाई सहजीकरणको लागि पत्र आएको र भारतीय सवारी साधनको विषयमा अहिलेसम्म कुनै जानकारी नआएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
सीमा नाकामा भारतीय सवारी साधनलाई दिईने अस्थायी प्रवेश पासको लागि विभागबाट निर्देशन आएपछि प्रवेश अनुमति दिईने वीरगन्ज आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले बताउनुभयो ।