विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
माधव तिमिल्सिना
ठोरी,१०असोज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४,विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी भएको पाइएको छ । विजयवस्तीमा रहेको चौधरी मोटरसाइकल मर्मत केन्द्रबाट गएराति मोटरसाइकलको पाटपुर्जा चोरी भएको हो ।
विजयवस्ती प्रहरी चौकीको करीब १ सय मिटर अगाडि २ वर्ष अघिदेखि सन्चालनमा रहेको पसलबाट मोटरसाइकलको टायर , चेन स्पोकेट , ह्याण्डल लगायतको करीब ३० हजार बराबरको सामान चोरी भएको पसल सन्चालक राजन चौधरीले जानकारी दिनुभयो ।
पसलमा मर्मत गर्नका लागि राखिएको ना ११ प २६१९ नम्बरको यमाहा कम्पनीको एफजेड मोडलको मोटरसाइकलको पाटपुर्जा चोरी हुँदा समेत १ सय मिटर अगाडि रहेको प्रहरीले थाहा नपाउनु आश्चर्य लागेको विजयवस्तीका स्थानीयले बताएका छन् ।
मर्मतका लागि राखिएको मोटरसाइकललाई प्रहरी चौकीकै अगाडिको बाटो हुँदै लगिएको र चौकीबाट करीब ५ सय मिटर दक्षिणतर्फ लगेर महत्त्वपूर्ण पाटपुर्जा निकालेर फालिएको अवस्थामा फेला परेको पीडित पसल सन्चालक चौधरीले बताउनुभयो ।
चोरीबाट ठुलो क्षति पुगेको पसल संचालक चौधरीले गुनासो गर्नुभयो । सिमावर्ती भारतीय गाउँका ऊनी विजयवस्तीमा नै बसेर मोटरसाइकल मर्मत गर्ने पसल सन्चालन गरिरहेका छन् ।