धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
वीरगन्ज,१०असोज । धानमा मल हाल्ने समय बितेपछि कृषि सामग्री कम्पनीले युरिया मल भित्राउने तयारी गरेको छ । ग्लोबल टेन्डरमार्फत आयात गर्न लागेको ३० हजार मेट्रिक टन युरिया मल तीन साता भित्र आइपुग्ने कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जले जनाएको हो । तर, किसानले जसोतसो जोहो गरेर धानमा मल हालिसकेको बताएका छन् ।
कम्पनीका प्रमुख गोरखनाथ केसीका अनुसार ठेकेदार दुबइको स्विस सिंगापुर कम्पनीले चिनबाट मल ल्याउन लागेको हो । हाल भारतको कोलकाता बन्दरगाहमा आउने क्रममै रहेको उहाको भनाइ छ । चीनबाट मल बोकेर हिँडेको पानीजहाज हाल समुद्री मार्गमा रहेको भन्दै उहाले यसै साताभित्र कोलकाता बन्दरगाहमा आइपुग्ने भए पनि नेपालमा ल्याउन कम्तीमा तीन साता लाग्ने उहाले बताउनुभयो । केसीले दसैंअघि मल आइहाले पनि त्यसपछि मात्र बिक्री वितरण हुने सम्भावना रहेको बताउनुभयो ।
आउँदो डेढ साताभित्र युरिया मलको माग करिब सकिने भएकाले धान किसानका लागि भने उपयोगी नहुने उहाले जानकारी दिनुभयो । किसानकै कुरो सुन्दा अबको डेढ सातापछि धान बालीका लागि युरिया मलको आवश्यकता नभएको पर्साका कृषकहरुले बताएका छन् । केसीका अनुसार चीनबाट आएको मल गहुँ बालीका लागि भने काम लाग्नेछ ।
उक्त मल मध्ये १० देखि १२ हजार मेटन वीरगन्ज र बाकी बिराटनगर तथा भैरहवा प्रादेशिक कार्यालयले पाउने सम्भावना रहेको उहाले बताउनुभयो । यस वर्ष मलको मौज्दात भदौ २५ गते सकिएको उहाको दाबी छ । भदौमा मात्र पर्सामा ३ हजार ५ सय १२ मेटन युरिया, १ हजार ३८ मेटन डीएपी र ६५ मेटन पोटास मल विभिन्न सहकारी मार्फत बिक्री वितरण भएको थियो ।
किसान संघ पर्साका अध्यक्ष असर्फी साहले हाल युरिया मलको अत्यधिक माग रहेको बेला मल नपाउने र माग सक्किएपछि मात्र मल आउने भएपछि त्यसले किसानलाई कुनै उपयोग नहुने बताउनुभयो । उहाले झन्डै एक महिनादेखि नै जिल्लामा युरिया मलको हाहाकार रहेको गुनासो गर्नुभयो ।