वीरगन्जको सुख्खा बन्दरगाहद्धारा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल
बिरगन्ज,११ असोज । वीरगन्जको सुख्खा बन्दरगाह भन्सार कार्यालये चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिर्सियामा रहेको उक्त कार्यालयले विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनर मार्फत नेपालमा भित्रिएका सामानहरुबाट राजश्व संकलन गरेको हो ।
यो भन्सारमा एकपटकमा ९० वटासम्म कन्टेनर मार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । गत साउन र भदौमा कूल ७ अर्ब,७ करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल ८ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन भएको छ ।
लामो समयको कोभिड–१९ को असहज अवस्था बिस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख डा.लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
बढी राजस्व सङ्कलन हुनेमा भन्सार महसुल पैठारीतर्फ कूल तीन अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कूल तीन अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ सङ्कलन भएको छ ।
उक्त नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोसाक लगायत सामग्री तेस्रो मुलुकबाट भित्रिन्छ ।