असोज महिना लागेपछि मात्रै प्रदेश २ मा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु
वीरगन्ज,१३ असोज । असोज महिना लागेपछि मात्रै प्रदेश २ मा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । असोज १ गतेदेखि आजसम्म १४५ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।यो अवधिमा दुर्घटनामा सबैभन्दा बढी मृत्यु सिरहामा भएको छ । यस अवधिमा सिरहामा ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
यस्तै धनुषामा ३ जना, सर्लाहीमा २ जना तथा सप्तरी, रौतहट र बारामा १÷१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । यो अवधिमा १४७ जना दुर्घटनामा परी घाइते भएका छन् ।
सबैभन्दा बढी रौतहटमा ३६ जना, सप्तरी र धनुषामा ३०÷३० जना, सर्लाहीमा १६ जना, सिरहामा १४ जना, बारामा १० र पर्सामा ३ जना घाइते भएका छन् ।सबैभन्दा बढी दुर्घटना धनुषामा भएको छ । धनुषामा ३४ वटा दुर्घटना हुँदा सप्तरीमा ३२, रौतहटमा २४, सर्लाहीमा २१, बारामा १३, सिरहामा ११, महोत्तरीमा ७ र पर्सामा ३ वटा दुर्घटना भएको छ ।