मुस्कान खातुनलाइ एसीड प्रहार गरेर घाइते बनाएका युवक, फेरि पक्राउ
वीरगन्ज,१४ असोज । वीरगन्जमा दुइ वर्ष पहिले मुस्कान खातुनलाइ एसीड छ्यापेर घाइते बनाएका युवकलाइ प्रहरीले फेरि पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने १९ वर्षीय समशाद मियाँलाई प्रहरीले हिजो फेरि पक्राउ गरेको हो ।
२०७६ साल भदौ २० गते वीरगञ्ज–४ गणेशमान चोकमा तत्कालीन १५ वर्षीया मुस्कान खातुनलाई सम्साद र मजिद आलमले एसीड प्रहार गरेका थिए ।घटना लगतै पक्राउ परेका सम्साद र मजिद विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई पर्सा जिल्ला अदालतको आदेशले दुवै जनालाइ तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।
तर कोभिड–१९ को पहिलो लहरको प्रकोपका बेला २०७६ साल चैत ११ गतेको अदालतकै आदेश अनुसार चैत १२ गते सम्सादलाइ उनको आमाको जिम्मा लगाएर घर पठाइएको थियो । त्यस बेला उनलाइ २०७७ बैशाख १४ गते पुन बालसुधार गृहमा ल्याएर जिम्मा लगाउन अदालतले आदेश दिएको थियो ।
तर सम्साद , २०७७ साल बैशाख १४ गते बालसुधार गृहमा हाजीर नभइ आफनै घरमा बस्दै आएका थिए । यहि बिच २०७७ साल फागुन २६ गते पर्सा जिल्ला अदालतले सम्साद विरुद्ध बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा सम्साद फरार भएका थिए ।
उनलाई हिजो वीरगञ्ज–२ ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।