आफू बिरुद्ध षडयन्त्र भइरहेको प्रदेश २ का मुख्यमंत्री राउतको जिकिर
वीरगन्ज,२० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई बदनाम बनाउने प्रयास भैरहेको बताउनुभएको छ । प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारलाई बदनाम गर्न जालझेल गरेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रदेश २ को सफल कार्यक्रम ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई विवादित बनाउन षड्यन्त्र भैरहेको उहाँको आरोप छ । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन भन्ने कुरा थाहा हुँदाहुँदै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमामाथि प्रहार गरेको उहाँको भनाई छ ।
मुख्यमन्त्री कार्यालयले प्रक्रिया पूरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउँदै उहाँले आयोगले समन्वय गरेको भए आफै सबै कागजात उपलब्ध गराउने पनि बताउनुभयो ।