संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने
वीरगन्ज,२० असोज । संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने भएका छन् । संसद सचिवालयले दसैं खर्च बिना नै उनीहरूको खातामा असोज महिनाको तलब भत्ता हालिदिएको हो । गतवर्ष तलब भत्तासँगै चाडवाड खर्च सचिवालयले सांसदहरूको खातामा हालिदिएको थियो । तर, कोरोना महामारीलाई कारण देखाउँदै सांसद र दलहरूले दसैं भत्ता फिर्ता गरेका थिए ।
संघीय संसदका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले सांसदहरूलाई खातामा असोजको तलब पठाइएको बताउनुभयो । संघीय संसदको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सांसदको तलब सुविधाको व्यवस्था गरिएको छ। तर सांसदहरूलाई तलब दिने उक्त ऐनले चाडवाड खर्च दिने प्रावधान गरेको छैन ।