चाडवाड बढेसँगै वीरगन्ज भन्सारबाट हलुका सवारी साधनको आयात बढ्यो
वीरगन्ज,२४ असोज । चाड पर्व नजिकिएसँगै वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात ह्वात्तै बढेको छ । दसैं तिहार जस्ता चाड पर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरुले पनि यीनै पर्वको मौका छोपेर अफर ल्याउने भएकाले पनि जीप, कार जस्ता सवारी साधनको आयात साबिकको भन्दा झण्डै चार गुणाले बढेको हो ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले १ साता यता जिप, कार जस्ता सवारी साधनको आयात उकालो लागेको बताउनुभयो । एक साता यता साविकको भन्दा तीनदेखि चार गुणा बढी जिप, कार जस्ता हलुका यात्रु बाहक सवारी साधनको आयात बढेको बताउदै उहाले तिहारसम्मै यो क्रम जारी रहने आफूहरुको अनुमान रहेको बताउनुभयो ।
साताअघि सम्म दैनिक औसत २० वटा सम्म जीप,कार जाँचपास हुने गरेकोमा हालका दिनहरुमा भने दैनिक ६० देखि ८० वटा सम्म जीप, कार जाँचपास भइरहेको उहाले बताउनुभयो ।
हाल दैनिक औसत ७८ करोड रुपैयाँ राजश्व यो भन्सारले संकलन गरिरहेको पौडेलले बताउनुभयो । जुन साविकको भन्दा झण्डै डेढ गुणा बढी हो । वीरगन्ज नाका मुलुककै सर्वाधिक बढी सवारी साधन आयात हुने नाका हो । भारत तथा तेस्रो मुलुकमा निर्मित सवारी साधन पनि यो नाका हुँदै आयात हुने गरेका छन् ।