आइतवार बिहानै देखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित
वीरगन्ज, २ कात्तिक । पर्सा , बारा सहित देशका धेरैजसो ठाउँमा आज पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भने भारी वर्षा भएको छ ।
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।
आज राति र भोलि सम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।पर्सि देखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । गत आइतवार बिहानै देखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ ।
बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली तथा वर्षा भइरहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।